काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर ८ गतेदेखि नयाँ चरणको आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रास्वपाले आफ्ना सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा हिरासतमा राख्ने काम भएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो । पार्टी सभापतिका साथै समसामयीक जनजिविकाका बिषयमा प्रधानमन्त्रीलाई माग पत्र बुझाउन खोज्दा पनि प्रधानमन्त्रीले समय उपलव्ध नगराएका कारण दोश्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको रास्वपाले जनाएको छ । पत्रकार सम्मेलनमा रास्वपा कार्यवहाक प्रवक्ता मनिष झाले आन्दोलनका एजेण्डा सुनाउदै सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न माग गर्नुभयो । त्यस्तै उहाले सहकारी पीडित र मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने, उच्च ओहदामा रहेका सबैको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्नुपर्ने माग रहेको बताउनुभयो । भष्टाचार काण्डको न्यायिक छानबिन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्ने, संविधान परिमार्जनका लागि सर्वपक्षीय सम्मेलन आयोजना लगाएतका एजेण्डा आफुहरुको रहेको झाले बताउनुभयो । झाले सहकारीमा ठगिएको ८७ अर्ब रुपैयाँमध्ये केहिमात्रै आम नागरिकको भएको र धेरै रकम जम्मा गर्नेहरु राजनीतिक भ्रष्टाचारी भएको आरोप लगाउनुभयो । त्यस्तै उहाले पहिलो र दाश्रो मिलेर बनेको सरकारले देश र जनताका लागि केहि काम गर्न नसकेको आरोप समेत लगाउनुभयो । रास्वपाले उपनिर्वाचनको मनोनयनमा आफ्ना पार्टीका उम्मेदवारहरुमाथि आक्रमणको प्रयास भएकाले उपनिर्वाचन निष्पक्ष हुनेमा आशंका जनाएको छ ।


