काठमाडौं । नेपाल–भारतको सीमामा तेस्रो मुलुकका नगरीकको अवैध प्रवेश रोक्ने तयारी भएको छ । दुई देशका सुरक्षासम्बन्धी अधिकारीहरूको शनिवारदेखि जारी उच्चस्तरीय बैठकमा यस्तो प्रस्ताव पेस भएको हो । सोमबारसम्म सञ्चालन हुने बैठकले सीमापार अपराध नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश निषेध गर्ने विषयमा साझा निष्कर्ष निकालिने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जानकारी दिए । महानिरीक्षक अर्यालले प्रस्तुत गरेको सीमा सुरक्षासम्बन्धी संयुक्त एजेण्डामा यो प्रस्ताव उल्लेख छ । बैठकमा महानिरीक्षक अर्यालसहित उच्च सुरक्षा अधिकारी, गृह मन्त्रालय, नेपाल प्रहरी, अनुसन्धान विभाग, नापी विभाग, परराष्ट्र मन्त्रालयका प्रतिनिधि र भारतको सीमा सुरक्षा बल एसएसबीका महानिर्देशक अमृतमोहन प्रसादको नेतृत्वमा छ सदस्यीय टोली सहभागी छ । बैठकमा भारतीय पक्षबाट तेस्रो मुलुकका नागरिकको पहिचानमा समस्या भएकाले आपसी सहकार्य जरुरी रहेको र त्यसका लागि संयुक्त डेस्क स्थापना गर्न सुझाव आएको छ । भुटान, बङ्गलादेश म्यान्मा, अफगानिस्तानलगायत देशबाट भारतीय भूमि हुँदै नेपाल प्रवेश गर्ने प्रवृत्ति बढेकाले भारतले त्यस्तो प्रस्ताव गरेको हो ।