काठमाण्डौ । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई प्रहरीले फेरि पोखरा लगेको छ । गएको मङ्गलवार लामिछानेलाई पोखराबाट रुपन्देही लगेकोमा रुपन्देहीमा बयान सकिएपछि फेरि पोखरा नै लगेको प्रहरीले जनाएको छ । रुपन्देहीमा बिहीबार बेलुका ८ बजे बयान सकिएको थियो । लामिछानेसँग रुपन्देही प्रहरीले तीन दिनमा साढे २३ घन्टा बयान लिइएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछाने बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनामा पनि संलग्न रहेको देखिएपछि प्रहरीले अनुसन्धानका लागि बयान लिन रुपन्देही लगेको थियो । सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रुपैयाँ लामिछानेकै नाममा र १४ करोड २९ लाख रूपैयाँ उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न व्यक्तिमार्फत पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । इलाका प्रहरी कार्यालय बुटवलमार्फत अभियोजन गरिएको मुद्दा सरकारी वकिल कार्यालयले बयानपछि अदालतमा पेश गर्नेछ ।


