काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सह(महामन्त्री बद्री पाण्डेले नेपाली काँग्रेसकै सांसद राजेन्द्र बजगाईंले शृङ्खलाबद्ध रुपमा आफूविरुद्ध कुप्रचार प्रसार गरेको भन्दै पार्टी केन्द्रिय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका छन् । अनुशासन समितिमा बिहिबार संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा नेपाली कांग्रेसका महासमिति सदस्य तथा गोरखा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी बजगाईँले आफू मन्त्री नियुक्त भएदेखि नै शृङ्खलाबद्ध रुपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरुमा कुप्रचार गर्दै आएको पाण्डेले उजुरीमा उल्लेख गरेका छन् । बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै मंगलबार सामाजिक सञ्जालमा पोस्ट गरेपछि त्यसलाई लिएर केही अनलाइनहरूले समाचार प्रकाशित भएका थिए । सो सम्बन्धी समाचार सार्वजनिक भएलगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यसविरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएपछि सांसद बजगाईँले पाण्डे विरुद्धका सबै पोस्टहरू केही घण्टापछि नै सामाजिक सञ्जालबाट हटाएका थिए ।


