इटहरी । विमल कृति पुरस्कार २०८० इलामका कबि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि बिमल गुरुङ्गको ५३ औ बार्षिक जन्म जयन्तीको अवसरमा कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले रु.२ लाख राशी स्वरुप शब्दथुमलाई विमल कृति पुरस्कार प्रदान गरिएको हो । धरान उपमहानगरपालिका १८ स्थित पुस्तकालयको हलमा शनिबार सम्पन्न ३३ औं राष्ट्रिय कविता महोत्सवको अवसरमा आयोजीत कार्यक्रमका प्रमुख अतिथी नेपाल सँस्कृत विश्वविधालय नेपालका उपकुलपति प्रा.डा. भिम खतिवडा र कवि पुस्तकालयका संचालक पुर्ण बहादुर गुरुङले पुरस्कार प्रदान गर्नु भएको हो । कृति पुरस्कारका लागि देश तथा विदेशमा रहेका नेपाली भाषी, लेखक, साहित्यकार सर्जकहरूबाट विभिन्न विधाका जम्मा १ सय २ कृति प्राप्त भएका मध्येबाट निर्णायक समितिको सिफारिस अनुसार कबि साहित्यकार थाम्सुहाङको निबन्ध कृति पुरस्कृत भएको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्वोले जानकारी दिनुभयो । सोही अवसरमा युवा कवि विवेक विवश रेग्मीलाई यस वर्षको कवि विमल गुरूङ स्मृति पुस्तकालय युवा प्रतिभा स्वरुप रु.१० हजार पुरस्कार प्रदान गरिएको पुस्तकालयका सदस्य चन्द्र गुरुङले बताउनुभयो । त्यस्तै १०३ वर्षीया ज्येष्ठ नागरिक दिलमाया गुरुङलाई रु .५ हजार सहित सम्मान गरिएको आयोजकले जनाएको छ । त्यस्तै सिक्किमका लेखक टिबि चन्द्र सुब्बा र विरेन गुरुङलाई पनि नगद सहित सम्मान गरिएको आयोजक समितिले जनाएको छ ।


