इटहरी । ‘विमल कृति पुरस्कार–२०८०’ को पुरस्कार ईलामका श्रष्टा प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिने भएको छ । कवि विमल गुरुङ स्मृति पुस्तकालयले विहिबार पत्रकार सम्मेलनको आयोजना गरि सो बारे जानकारी दिएको हो । कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले यही कार्तिक २४ गते हुने ३३ औं राष्ट्रिय कविता महोत्सवको अवसरमा रु.२ लाख रुपैया विमल कृति पुरस्कार प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिनुभयो । कृति पुरस्कारका लागि देश तथा विदेशमा रहेका नेपाली भाषी, लेखक, साहित्यकार सर्जकहरूबाट विभिन्न विधाका जम्मा एक सय दुई कृति प्राप्त भएका मध्येबाट निर्णायक समितिको सिफारिस अनुसार साहित्यकार थाम्सुहाङको निबन्ध कृति पुरस्कृत गर्ने निर्णय गरिएको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्वोले बताउनुभयो । उपाध्यक्ष मेन्याङ्वोका अनुसार,शब्दथुम भित्र पूर्वेली पहिचान बोकेको रैथाने संस्कृति, रैथाने चेत र रैथाने जीवनशैलीलाई मिहिन रूपमा उतारिएको बताउनुभयो । कार्तिक २४ मा हुने राष्ट्रिय कविता महोत्सवमा प्रथम, द्धितीय र तृतीय हुने कविहरूलाई क्रमशः नगद २१ हजार,१८ हजार, १७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । सोहि अवसरमा साहित्यसँगै पत्रकारिता क्षेत्रमा सक्रिय रहेका विवेक विवश रेग्मीलाई यो वर्षको कवि विमल गुरूङ स्मृति पुस्तकालय युवा प्रतिभा सम्मान प्रदान गरिने पुस्तकालयका सदस्य चन्द्र गुरुङले बताउनुभयो । सोही अवसरमा धरानका १०३ वर्षीया ज्येष्ठ नागरिक दिलमाया गुरुङ, सिक्किमका लेखक टिबि चन्द्र सुब्बा र विरेन गुरुङलाई समेत सम्मान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिनुभयो ।