इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले मुन्धुम पदमार्गलाई पर्यटनको आकर्षक ’भर्जिन’ गन्तव्य बनाउन अनुगमन पदयात्रा सम्पन्न गरेको छ । टेम्केमैयुङ गाउँपालिकाले पर्यटन पत्रकार, जनप्रतिनिधि, कर्मचारी, र अन्य व्यक्तित्वहरू सहितको ३५ जनाको टोली सहित कात्तिक ४ गते चखेवाबाट यात्रा प्रारम्भ गरेको थियो, जसको समापन कात्तिक ९ गते भएको हो । ६ दिनको यो यात्रामा सहभागीहरूले ४ हजार १ सय ५४ मिटर उचाइको साल्पा सिलिचुङ चुचुरोमा पुग्न सफल भए । गाउँपालिकाले “कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधारः टेम्केमैयुङ विकासको आधार“ भन्ने नाराका साथ पर्यटन प्रवर्द्धनमा जोड दिएको छ । गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार, अनुगमन पदयात्राले मुन्धुम पदमार्गको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुर्याउनेछ । यसले पदयात्राको कमजोरीहरू पहिचान गरी सुधार गर्ने अवसर दिने विश्वास पनि व्यक्त गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले स्थानीय हस्तकला, सूचना बोर्ड, खानेपानी, शौचालय, र अन्य संरचनाहरूको निर्माणलाई प्राथमिकता दिइने जानकारी दिनुभयो । उपाध्यक्ष रमा देवी राईले चखेवामा निर्माण भइरहेको पर्यटन सूचना केन्द्रको काम अन्तिम चरणमा पुगेको र यसले पदयात्रीहरूलाई मार्गनिर्देशन र जानकारी दिने सेवा प्रदान गर्ने बताउनुभयो । स्वीस सरकार तथा प्रदेश र संघ सरकारको सहयोगमा रु. १ करोड ९० लाख ५० हजारको लगानीमा मुन्धुम पदमार्गको थप विकास गर्न लागिएको छ । २०२५ लाई “मुन्धुम ट्रेल भ्रमण वर्ष“ घोषणा गर्दै एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । यो पदमार्ग भोजपुर, खोटाङ, र संखुवासभाको सिमानामा अवस्थित छ, जहाँ सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से लगायतका हिमालहरू देख्न सकिन्छ । यस क्षेत्रका विभिन्न स्थानमा सांस्कृतिक तथा धार्मिक मेला पनि लाग्ने गर्छ, जसले पर्यटनलाई अझै आकर्षक बनाउने अपेक्षा गरिएको छ । मुन्धुम पदमार्गलाई सन् २०७५ मा नेपाल सरकारले सय उत्कृष्ट पर्यटकीय गन्तव्यहरूको सूचीमा राखेको थियो ।


