इटहरी । धनकुटामा कुनैपनि बेला हुनसक्ने विभिन्न घटनाहरुलाई क्षति रहित नियन्त्रणमा लिने उद्देश्यले प्रहरीले सशस्त्र प्रहरीसंग संयुक्त भीड नियन्त्रण अभ्यास गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजना र सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म छिन्ताङको सहकार्यमा धनकुटाको तल्लो टुँडिखेलमा संयुक्त भीड नियन्त्रण अभ्यास प्रर्दशनी गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामसिहं चौधरीले चाडबाड नजिकिएसँगै हुन सक्ने विभन्नि खालका भिडभाड र आन्दोलनलाई ध्यानमा राखी नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त भीड नियन्त्रण अभ्यास गरेको जानकारी दिनुभयो । हुलदंगालाई नियन्त्रणमा लिदा सकेसम्म क्षति हुन नदिने र भएमा कम भन्दा कम क्षति हुनेगरी कसरी काम गर्न सकिन्छ भन्ने सिकाइका लागि उपयोगि हुने उहाँको भनाइ छ । कुनैपनि प्रकारको आन्दोलन नहोस् र सदभाव नबिग्रियोस् भन्नका लागि सदभाव विथोलिने गरी हुन सक्ने जुनसुकै आन्दोलनलाई कसरी सम्हाल्ने भन्ने विषयमा संयुक्त भीड नियन्त्रण अभ्यासले सकारात्मक भूमिका खेल्ने बताइएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्मका सशस्त्र प्रहरीले भीडलाइ सम्झाउने, वार्ता गराउने, वार्ता असफल भएपछि हुने अवाञ्छित गतिबिधी रोक्ने अध्यास गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायत सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधी र पत्रकारको सहभागिता रहेको थियो ।