सुनसरी / गत महिना परेको अविरल बर्षाका कारणका डुवानमा परेका बराहक्षेत्र नगरपालिका वडा नं.-६ का ४६ घरधुरी बाढीपीडितलाई लायन्स क्लबले राहत वितरण गरेको छ । बराहक्षेत्र नगरपालिका वडा नं.-६ का वडा अध्यक्ष श्री उद्वब प्रसाद पोखरेल ज्यूको मुख्य उपस्थितमा लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ सी का डिस्ट्रिक गभर्नर बिकास अधिकारीज्यूको अध्यक्षतामा उक्त राहत सामाग्री वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ सीका लायन्स नेताहरू सहित स्थानीय लायन्स क्लब अफ सप्तकोसी डायनामिकका लायन्सकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्राकृतिक विपत्तिका बेला लायन्स इन्टरनेसनलले पठाएको राहत सामाग्री स्थानीय लायन्स क्लब अफ सप्तकोसी डायनामिकले डिष्ट्रिकसंग समन्वय गरि ल्याइएको र वितरण गरिएको डिष्ट्रिक गभर्नर बिकास अधिकारीले बताए । 

कार्यक्रममा बोल्दै उक्त वडाका वडा अध्यक्ष उद्वब प्रसाद पोखरेलले लायन्स क्लबले दिएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै सीमित मात्रामा आएको सामान आफ्नो वडामा वितरण भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस किसिमका सहयोगहरू आएका बखत आफु आवश्यक सहयोग र समन्वयका लागि सदैब तयार रहेको बताए । 

उक्त राहत प्याकेजमा प्रति परिवार चामल, दाल, तेल, नुन, चिउरा, ब्ल्याङ्केट, तन्ना, झुल, चप्पल, बाल्टिन, जग, थाल, गिलास, तपेस, प्राथमिक उपचारको सामाग्री लगायत रहेको डिष्ट्रिक गभर्नर अधिकारीले जानकारी दिए । 

"इन्टरनेसनबाट बाढी प्रभावितहरूका लागि राहत आएको जानकारी भयो । हाम्रो नगर पनि कोसीको डुबानबाट नराम्रोसंग प्रभावित भएकाले मैले डिष्ट्रिकसंग कुरा राखें । फन्ड थोरै भएकाले सबैका लागि पुग्ने गरि ल्याउन नसके पनि जे जति भए पनि आफ्ना वडाका प्रभावित जनताहरूलाई राहत स्वरूप केही सामाग्री वितरण गर्न पाइयो अत्यन्तै हर्षित छु । यो अवसरका लागि डिष्ट्रिक गभर्नर सहित टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।" राहत वितरण कार्यक्रम समापन पश्चात् कुरा गर्दै लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ सी का जोन चेयर पर्सन एवं लायन्स क्लब अफ सप्तकोसी डायनामिकका निवर्तमान अध्यक्ष समेत रहेका कार्यक्रम संयोजक दुर्गानन्द दास (बिक्रम) ले बताए ।

लायन्स क्लबले विभिन्न समयमा सामाजिक तथा मानवीय सेवाका कार्यहरू निरन्तर गरिरहेको र निकट भविष्यमा पनि निरन्तर यस्ता कार्यहरूमा लागिपरिरहने लायन्स क्लब अफ सप्तकोसी डायनामिकका अध्यक्ष सुजित कुमार रायले बताए ।