इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं ३ आइतबारेमा आफ्नो मौलिकता र संस्कृति जोगाउने उद्देश्यले खुल्ला भजन किर्तन प्रतियोगिता सम्पन्न भएको छ । शनिबार मोरङको पथरी शनिश्चरे वडा नं ३ को आइतबारेमा महिला जागरुक हरिकिर्तन समूह तथा सङ्गीनी समूहको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना भएको हो । पथरी शनिश्चरे वडा नं ३ को वडा कार्यालयको मुख्य सहयोगमा आयोजित सो प्रतियोगितात्मक भजन किर्तन कार्यक्रममा नगरभित्रका १२ वटा भजन किर्तन टोलीले सहभागिता जनाएका थिए । पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यतामा गरिएको सो कार्यक्रममा  सभापतित्व महिला जागरुक हरिकिर्तन समुह तथा संगीनी समूहकी अध्यक्ष देवीमाया पोखरेलले  गर्नु भएको  थियो भने कार्यक्रम सञ्चालक यसोदा पोखेल रहनुभएको थियो । प्रमुख अतिथि समेत रहनुभएकी पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्लेले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको सो कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष नवीनजंग कार्की ,वडा नम्बर ३ का वडाध्यक्ष विजय लिम्बु, वडा नं ४ का वडाध्यक्ष लोक किरण न्यौपाने लगायतले आ –आफ्ना  शुभकामना मन्तव्य  राख्नुभएको थियो । सोही क्रममा वडा सदस्यहरू क्रमशःकन्केश्वरी अधिकारी, टंक पराजुली, चन्द्रबहादुर चेम्जोङ लगायतको उपस्थिति रहेको थियो । पुरस्कृत हुने भजन किर्तन टोलीलाई कार्यक्रमकी प्रमुख अतिथि नगर पालिकाकी उपप्रमुख देवीमाया काफ्लेले  ३ हजार ,२ हजार , १५ सय  र १ हजार नगद  सहित दोसल्ला तथा प्रमाण–पत्र प्रदान गर्नुभएको थियो ।