इटहरी । नेपाली कांग्रेस धनकुटाले पार्टी संगठन सुदृढीकरणको सय दिने अभियान शुरू गरेको छ । बिहीबार पत्रत्रकार सम्मेलनको आयोजना गरेर गत ३ गतेदेखि अभियान सुरु भएको जनाएको हो । अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य डा. डिला संग्रौलालाई खटाएको छ । अभियानका लागि धनकुटा कांग्रेसले पूर्वसभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारीलाई ७ स्थानीय तहका ६० वटा वडामा खटाएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ । सय दिने अभियानका क्रममा पार्टी कार्यालय व्यवस्थित गर्ने, मासिक रुपमा सबै तहका बैठक र वडा तहसम्म यथाशीघ्र सम्मेलन गर्ने, वार्षिक कार्ययोजना बनाउने, संगठन विस्तारका लागि सामाजिक र राजनीतिक गतिविधि बढाउने, सदस्यता घर आँगन कार्यक्रमलाई प्रभावकारी बनाइने कांग्रेशले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य संग्रौलाले सरकारले जनताले देखिने खालका काममा प्राथमिकता दिँदै सरकार गठनका बेला कांग्रेश र एमालेबीच भएको सहमतिका आधारमा संविधान संशोधन हुनुपर्ने बताउनु भयो । भातृ र शुभेच्छुक संगठनमा रिक्त पदपूर्ति गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान, द्वन्द्व पीडित, घाइते र शहीद परिवारको सम्मान गरिने नेपाली कांग्रेस धनकुटाले जनाएको छ । अभियान आउँदो पुस १६ गते बीपी जयन्तीका दिन समापन हुने बताइएको छ ।