इटहरी । एसियन हाइवे अन्तर्गतको पथरी  शनिश्चरे सडक खण्डमा पक्की ढल सहितको फुटपाथ र विभिन्न स्थानमा ओभरहेड ब्रिज ( आकाशेपुल ) सहित ६ लेनको सडक निर्माण गर्न माग गरिएको छ । आईतबार पथरी शनिश्चरे नगरपालिकाको संयोजकत्वमा विभिन्न सरोकारवालाहरूको उपस्थितिमा एक सर्वपक्षीय तथा सर्वदलीय बैंठक भएको हो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको अध्यक्षतामा भएको सो छलफल सहितको बैंठकमा सडक डिभिजनका प्रतिनिधि तथा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूले आफ्ना राय– सुझावहरू दिनु भएको थियो । सो बैठकका क्रममा अधिकांश सरोकारवालाहरूले पथरिशनिश्चरे नगरपालिकाको बढ्दो जनघनत्व तथा बजारीकरणलाई मध्येंनजर गर्दै  उक्त सडक निर्माण आयोजक एशियन हाईवे कम्पनीले आफ्नो  डिजाइन संशोधन गर्नुपर्ने माग राख्दै सल्लाह र सुझाव दिनुभएको थियो ।  एसियन हाइवे, ईटहरीका प्रोजेक्ट म्यानेजर जगत प्रजापति समेतको उपस्थितिमा  पथरिशनिश्चरे नगरभित्रका सबै राजनीतिक दल, सरोकारवाला विभिन्न संघसंस्थाका प्रतिनिधि, विभिन्न वडाका जनप्रतिनिधिहरू , उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, संचारकर्मी सहितले छलफल तथा अन्तरक्रिया गरेका थिए । उनीहरूले संयुक्त बैंठकले ऐक्यबद्धता सहित  बुँदागत रुपमा विभिन्न निर्णयहरु अगाडि बढाउने निर्णय गरेका थिए ।  जसअन्तर्गत पूर्वमा सुनझोडा खोला देखि पश्चिम मोरङ्गी खोला सम्म फुटपाथ सहित ६ लेनको सडक निर्माण हुनुपर्ने, पथरी बजार खण्डको मन्दिरलाईन ,  जाँते मोड र सिरिजंगा धार्मिक वन  अगाडि फ्लाइओभर निर्माण हुनुपर्ने, जिरिखिम्ती खण्डमा अण्डरपास निर्माण हुनुपर्ने र पथरी बजार क्षेत्रमा फुटपाथ तथा ड्रेन सहितको ५० मिटर सडक निर्माण हुनुपर्ने माग गरिएको छ ।