सुनसरी / सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीका ४५ वर्षीय दीपु चौधरीको मृत्यु प्रकरणले अर्को रूप लिएको छ । उनको मृत्यु सवारीसाधनको ठक्करबाट भएको पत्ता लागेको हो ।

प्रहरीका अनुसार मापसे (मादक पदार्थ सेवन) गरेका चौधरीको मृत्यु साइकलबाट लडेर भएको आशंका गरिएको थियो । तर, खानेपानी कार्यालय भोजपुरको गाडीको ठक्करबाट साइकलयात्री चौधरीको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

साइकलमा यात्रारत चौधरीलाई रामधुनी–६ स्थित भित्री पक्की सडक खण्डमा असोज १८ गते बिहान ८ः३० बजे खानेपानी कार्यालय भोजपुरको को १ झ ६३३ नम्बरको गाडीले ठक्कर दिएको थियो । त्यसपछि उनलाई घरमा लगेर घरयासी उपचार गरियो ।

स्वास्थ्यमा थप समस्या हुँदै गएपछि परिवारका सदस्यले उपचारका लागि असोज २६ गते मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगे । उपचारका क्रममा २७ गते आइतबार दिउँसो मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार चौधरीलाई गाडीले ठक्कर दिएको जानकारी सोमबार इलाका प्रहरी कार्यालय पकलीमा आफन्तले गराएका थिए । पकलीका इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएपछि चौधरीको मृत्यु दुर्घटनामा परेर भएको पत्ता लागेको हो ।

प्रहरीले दुर्घटनास्थल वरपरका सीसी क्यामेरा फुटेज अध्ययन गरेको थियो । त्यस क्रममा गाडीले साइकलयात्रीलाई ठक्कर दिएको यकिन भयो । सडक पार गर्दै गरेको साइकललाई तीव्र गतिमा रहेको गाडीले ठक्कर दिएको सीसी क्यामेरा फुटेजमा देख्न सकिन्छ ।

गाडीले ठक्कर दिएपछि साइकलयात्री चौधरी सडकमै लडेका थिए । साइकलसँगै लडेका उनी केहीबेरमा आफैं उठ्छन् । दुर्घटनापछि चालकले गाडी रोकेका थिए । तर, स्थानीयहरु भेलाजम्मा हुन थालेपछि गाडी लिएर चालक फरार भएको फुजेटमा देखिन्छ ।

घटनास्थलबाट भागेको गाडीलाई कसैले पनि रोक्ने प्रयास गरेको देखिँदैन । प्रहरीलाई तत्काल घटनाको जानकारी गराइएन । तर, चौधरीको मृत्यु भएपछि भने प्रहरीलाई आफन्तले घटनाको वास्तविकता बताएका हुन् ।

त्यसपछि अनुसन्धान अघि बढाएको प्रहरी दुर्घटना गराउने गाडी पत्ता लगाउन सफल भएको डीएसपी तिमल्सिना बताउँछन् । प्रहरीले दुर्घटना गराउने गाडी र चालक भोजपुरको षडानन्द नगरपालिका–११ का ४६ वर्षीय सुरेश तामाङलाई पकली झिकाएको छ ।

प्रहरीका अनुसार मंगलबार रातिसम्म तामाङ पकली आइपुगेका छैनन् । घटनाको अनुसन्धान अघि बढाइएको बताउँदै डीएसपी तिमल्सिनाले अनुसन्धानपछि थप कुरा प्रष्ट हु्ने जानकारी दिए ।