विराटनगर / जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल ठहरिएका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारी देशभरका इलाका प्रहरी कार्यालय मध्येबाट सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेलाई सर्वोत्कृष्ट प्रहरी कार्यालय र कार्यालय प्रमुख धर्मराज भण्डारीलाई यस वर्षको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।आज प्रहरी प्रधान कार्यालयमा भएको एक भव्य कार्यक्रमका बिच अभिलेखमा जनिनेगरि सर्वोत्कृष्ट प्रहरी घोषित सहित पुरस्कृत गरेको हो । भण्डारीलाई प्रहरी प्रधान कार्यालयका प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले सम्मान गरेका हुन ।अनुसन्धानमा डिएसपी भण्डारी अब्बल मानिन्छन् ।
प्रहरी प्रधान कार्यालयले प्रत्येक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने अन्तर प्रहरी कार्यालयको कार्यदक्षता मूल्याङ्कन गरी सर्वोत्कृष्ट हुने प्रहरी कार्यालयलाई पुरस्कृत गर्दैआएको छ । यस वर्ष पनि सोही प्रयोजनका लागि अन्तर प्रहरी कार्यालयको कार्यदक्षता मूल्याङ्कन गरिएको थियो ।
विभागीय मूल्य-मान्यता, आदेश निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको कारणले सर्वोत्कृष्ट प्रहरी घोषित गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


