इटहरी / सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर २०, तरहरामा बसोबास गर्ने ५७ वर्षीय डिकबहादुर खड्का विगत ४० वर्षदेखि मृगी रोगले पीडित छन्। मृगी रोगका कारण उनको जीवन अत्यन्त कठिन बनेको छ, र उनलाई साङ्लोमा बाँधेर राख्न बाध्य हुनु परेको छ। उनका परिवारले आर्थिक कठिनाइका कारण उपचार गराउन नसकेको र विभिन्न ठाउँमा सहयोगको अपिल गरे पनि हालसम्म कुनै ठोस सहयोग प्राप्त नभएको गुनासो गरेका छन्।
डिकबहादुरका ७९ वर्षीय पिता नेरपसिंह खड्काका अनुसार, डिकबहादुरको जन्म २०२४ सालमा तेह्रथुम जिल्लामा भएको थियो। उनी परिवारका पाँच भाई छोरा मध्येका जेठा हुन्। नेरपसिंहले भने, "डिकबहादुरलाई १२ वर्षको उमेरमा, अर्थात् २०३६ सालदेखि नै मृगी रोगले च्यापेको हो। त्यसबेलादेखि नै हाम्रो परिवारको आर्थिक अवस्था खस्किँदै गयो। हामीले धेरै ठाउँमा उपचारका लागि प्रयास गर्यौं, तर डाक्टरहरूले यो रोग निको नहुने बताएपछि निराश भएर गाउँ फर्कियौं।"
डिकबहादुरको रोगको शुरुवाती चरणमा नै परिवारले उनीलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा लगेका थिए। त्यहाँका चिकित्सकले मृगी रोगको स्थायी उपचार सम्भव नभएको बताएपछि, परिवारले उनलाई घरमै राखेर स्याहार्ने निर्णय गर्यो। डिकबहादुरका बुवा नेरपसिंहले भने, "डा. ज्ञानेन्द्र कार्कीले भनेपछि हामीलाई आशा नै मरेको जस्तो भयो। अरूले पनि धेरैपटक हेर्न आए, तर सहयोग भने कसैले गरेन।"
उनकी ७२ वर्षीय आमा हिमादेवी खड्काले आँसु भरिएका आँखाले भनिन्, "उसलाई साङ्लोमा राख्नुपरेको छ, किनकि बिरामी हुँदा उ सबैलाई कुट्न थाल्छ। दिशा-पिसाब पनि जता पनि गर्छ। हामी निकै दुःखी छौं, कसैले उसको उपचार गरिदिए कति राम्रो हुन्थ्यो।"
हिमादेवीका अनुसार, छोरो बिरामी हुँदा खानपिन गर्न पनि अस्वीकार गर्छ। बिरामी हुँदा उसको अवस्था अत्यन्त जटिल बन्छ र उसलाई सँधै साङ्लोमा बाँध्नुपर्ने अवस्था हुन्छ। "उसको मृगी रोगले गर्दा उसलाई नियन्त्रणमा राख्न गाह्रो भएको छ," उनले भनिन्।
खड्का परिवारले स्थानीय तहमा सहयोगका लागि धेरै पटक अपिल गरिसकेका छन्, तर कतैबाट ठोस सहयोग प्राप्त भएको छैन। "हामीले इटहरी उपमहानगरपालिका लगायतका स्थानीय निकायसँग पनि सहयोग मागेका थियौं, तर केही पाएका छैनौं," डिकबहादुरका बुवाले भने।
स्थानीयवासी निरपबहादुर खड्काका अनुसार, डिकबहादुरको परिवार पहाडबाट इटहरीमा बसाइँ सरेको करिब १०-१२ वर्षमात्र भएको हो। "डिकबहादुरलाई सानै उमेरमा मृगी रोग लाग्यो, तर उपचार नहुँदा उसको अवस्था झन् बिग्रियो। यस्ता बिरामीहरूको हेरचाहमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने हो," निरपबहादुरले भने।
इटहरी उपमहानगरपालिकाकी पूर्व उपमेयर लक्ष्मी गौतमले डिकबहादुरको पीडादायी अवस्थाप्रति संवेदनशील हुँदै उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि पुर्याएकी थिइन्। उनले नगरपालिकाको तर्फबाट प्रारम्भिक चरणमा रु. १०,००० सहयोग गरेको बताएकी छन्। थप उपचारका लागि उपमहानगरपालिकाले प्रतिष्ठानलाई सिफारिस गरिसकेको जानकारी पनि उनले दिएकी छन्।
गौतमले भनेकी छन्, "हामीले उनलाई अस्पताल पुर्यायौं, र प्रारम्भिक उपचार गराइयो। नगरपालिकाबाट उपलब्ध स्रोतअनुसार केही आर्थिक सहयोग पनि दिइएको छ। थप उपचारका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेका छौं।"
डिकबहादुरका परिवारले अब सहयोगको लागि पुनः अपिल गरेका छन्। उनीहरूको चाहना छ कि, डिकबहादुरको मृगी रोगको उपचार गरी उनलाई साङ्लोबाट मुक्त गरियोस्। उनकी आमा हिमादेवीले भनिन्, "हाम्रो आशा छ, कुनै दिन ऊ सामान्य जीवनमा फर्किन सक्छ। कम्तीमा हिँडडुल गर्न सक्ने अवस्था भए पनि हामी सन्तुष्ट हुनेछौं।"
यो परिवारको लागि आर्थिक अवस्था अत्यन्त कठिन छ, र उनीहरूले स्थानीय तथा राष्ट्रिय स्तरका व्यक्ति, संस्था तथा सरकारलाई सहयोगका लागि आग्रह गरेका छन्।
यदि तपाईं डिकबहादुरको उपचारमा आर्थिक वा अन्य सहयोग गर्न इच्छुक हुनुहुन्छ भने, कृपया इटहरी २०, तरहरामा रहेको खड्का परिवारसँग सम्पर्क गर्नुहोस्। तपाईँको सानो सहयोगले पनि उनको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। सम्पर्क नम्बर


