मोरङ / मोरङमा दुर्घटनामा परेर आइतबार एकै दिन २ जना प्रहरीले ज्यान गुमाएका छन् । दुर्घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानको मृत्यु भएको छ ।

दुःखद् संयोग, मृतक दुवै जनाको घर संखुवासभा हो । एउटा दुर्घटना पूर्व–पश्चिम राजमार्ग र अर्को दुर्घटना कोशी राजमार्गमा भएको छ ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक साँझ ६ः४० बजेतिर कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए ।

उनका अनुसार दुर्घटनामा अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको छ । संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राईलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो ।अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । प्रहरी जवान राई मोटरसाइकल चालक हुन् ।

प्रहरीका अनुसार घटनास्थलको प्रकृति हेर्दा विपरीत दिशाबाट आउँदै गरेको कारको लेनमा पुगेर मोटरसाइकल ठोक्किएको देखिन्छ । यद्यपि, अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्ने डीएसपी जोशीले बताए ।दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । दुर्घटनामा परेर दुवै सवारीसाधन क्षतिग्रस्त बनेका छन् ।

त्यस्तै, बूढीगंगामा मिक्सचर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरीका १ जना जवानको मृत्यु भएको छ । कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका– ४ गोकुवा चोकमा प्रदेश १–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–००१ क ३७१३ नम्बरको मिक्सचर ट्रकले दिउँसो १ः४० बजेतिर ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार पूर्वबाट राजमार्गमा निस्किएर उत्तरतर्फ मोडिदै गरेको मोटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मिक्सर ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको डीएसपी जोशीले जानकारी दिए । उनका अनुसार संखुवासभाको पाँचखपन नगरपालिका–५ लिङलिङ घर भएका तामाङ दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए ।

उपचारका लागि बूढीगंगाकै विराट शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकले दिउँसो २ः४५ बजेतिर मृत घोषित गरेको जानकारी जोशीले दिए ।

दुर्घटनामा मोटरसाइकल चालक सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत अर्का जवान ३० वर्षीय युशन राई घाइते भएका छन् । धनकुटाको साँगरीगढी गाउँपालिका–९ घर भएका उनको विराटमै उपचार भएको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै प्रहरीले मिक्सर ट्रक र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका – ६ का ३० वर्षीय सुवास झाँगडलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मिक्सरको तीव्र गति र मोटरसाइकल चालकको कमजोरीले दुर्घटना भएको प्रहरीले जनाएको छ ।