इटहरी / ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा इटहरी उपमहानगरपालिकाले नगरका ज्येष्ठ नागरिकहरूको सम्मानमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। ज्येष्ठ नागरिक नगर समन्वय समिति इटहरीको आयोजनामा भएको यो कार्यक्रमले इटहरीका ४० जना भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान प्रदान गरेको छ। यस अवसरमा प्रभातफेरीसहित विभिन्न सांस्कृतिक तथा धार्मिक गतिविधिहरू आयोजना गरिएको थियो।
प्रभातफेरीमा ज्येष्ठ नागरिकहरूले नगरका विभिन्न क्षेत्रहरूको परिक्रमा गर्दै शारीरिक रूपमा सक्रियता प्रकट गरे। कार्यक्रममा उनीहरूले भजन, किर्तन, बालन र अन्य सांस्कृतिक गीतहरू गाएर मनोरञ्जन गरे। यस किसिमको आयोजनाले ज्येष्ठ नागरिकहरूलाई सक्रिय र सशक्त बनाउन मद्दत पुर्याउने आयोजकले बताए।
कार्यक्रममा नगरका सर्वश्रेष्ठ ज्येष्ठ नागरिक (१ महिला र १ पुरुष) तथा प्रत्येक वडाबाट १ महिला र १ पुरुष ज्येष्ठ नागरिकलाई विशेष सम्मान प्रदान गरिएको थियो। नगरपालिकाका तर्फबाट दीर्घ जीवन, योगदान र समाज सेवाका आधारमा यी नागरिकहरूको योगदानको कदर गरिएको हो। यो सम्मान कार्यक्रमले समाजमा ज्येष्ठ नागरिकको भूमिकालाई अझै सम्मानजनक बनाउने अपेक्षा गरिएको छ।
सिंजा आयुर्वेदकी सञ्चालिका गोमा उप्रेतीले ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्य सेवाको महत्वलाई उल्लेख गर्दै, बुढ्यौलीसँगै विभिन्न स्वास्थ्य समस्याहरू बढ्दै जाने भएकोले निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गरिएको जानकारी दिनुभयो। उहाँले नियमित स्वास्थ्य परीक्षण र आयुर्वेदिक उपचारले ज्येष्ठ नागरिकहरूको जीवनस्तर सुधार्न सकिने कुरामा जोड दिनुभयो।
ज्येष्ठ नागरिक नगर समन्वय समिति इटहरीका अध्यक्ष पुन्य प्रसाद न्यौपानेले ज्येष्ठ नागरिकहरूले समाजमा सम्मानजनक र सुरक्षित जीवन जिउन पाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले ज्येष्ठ नागरिकहरू शारीरिक तथा मानसिक शोषणबाट मुक्त हुनुपर्ने र स्वतन्त्र रूपमा जीवनयापन गर्न पाउनुपर्नेमा जोड दिनुभयो।
इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीले नगरपालिकाले ज्येष्ठ नागरिकहरूको हक, अधिकार र कल्याणका लागि निरन्तर साथ र सहयोग गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले नगरपालिकाले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य, सुरक्षा र सम्मानलाई सुनिश्चित गर्नका लागि विभिन्न योजनाहरू ल्याइरहेको र अझ प्रभावकारी कार्यक्रमहरू अगाडि बढाइने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले नगरपालिकाले हरेक वर्ष ज्येष्ठ नागरिक दिवसलाई विशेष रूपमा मनाउँदै आएको र आगामी दिनहरूमा ज्येष्ठ नागरिकहरूको जीवनस्तर सुधार्नका लागि थप कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाउनुभयो। उहाँले ज्येष्ठ नागरिकहरूलाई सम्मान, पुरस्कार र स्वास्थ्य सेवामा विशेष प्राथमिकता दिने बताउनुभयो।
त्यसैगरी, कार्यक्रममा २०८१ सालको विजया दशमी, शुभ दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान पनि गरियो। विभिन्न अतिथिहरूले समाजमा ज्येष्ठ नागरिकहरूको योगदानको सम्मान गर्दै तिनलाई थप सक्रिय बनाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
समारोहमा इटहरी उपमहानगरपालिकाको सामाजिक शाखा प्रमुख संगिता पोख्रेल, ज्येष्ठ नागरिक समाज इटहरीका पदाधिकारीहरू, स्थानीय नेता तथा नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो। उपस्थित सबैले ज्येष्ठ नागरिकहरूको सम्मानका लागि भविष्यमा पनि यस्ता कार्यक्रमको आवश्यकता रहेको बताएका थिए।


