सुनसरी / वराहक्षेत्र नगरपालिकाले वडा नं. ११ स्थित मधुवनमा बजार अनुगमन गरेको छ। उपभोक्ताहरूको अधिकार सुनिश्चित गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार यो कार्य सुरु गरिएको हो।

दशैं, तिहार लगायतका चाडपर्व नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य वृद्धि, मूल्यमा एकरूपता नभएको, र म्याद नाघेका बस्तु बिक्रीमा उपभोक्ताहरूले गरेका गुनासोलाई ध्यानमा राखेर नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजार अनुगमनलाई सक्रिय बनाएको हो।

नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीका अनुसार अनुगमन टोलीले मधुवनका खाद्यान्न किराना पसल, फलफूल पसल, चिसो पदार्थका डिलर, र मासु पसलहरूमा अनुगमन गरेको थियो।

अनुगमनको क्रममा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलाको प्रयोग, म्याद नाघेका सामग्री बिक्री गर्न राखिएको, र अन्य अनियमितताहरू फेला परेका पसलहरूमा कारबाही गरिएको थियो। म्याद नाघेका सामग्री नष्ट गर्नुका साथै ती पसलहरूलाई जरिवाना गरिएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, इनरुवा सुनसरीले खाद्यान्नको नमुना पनि सङ्कलन गरेको छ।

नगर उपप्रमुख सुनुवारका अनुसार उपभोक्ताको हित विपरीत सञ्चालन भएका पसलहरूलाई नियमको पालना गर्न निर्देशन दिइएको छ। अनुगमन टोलीमा आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सङ्गम दाहाल, उद्योग वाणिज्य संघ वराहक्षेत्रका कोषाध्यक्ष तुलसी श्रेष्ठ, नेपाल प्रहरी, नगर प्रहरी लगाएतको  सहभागिता थियो।

1727695219177