सुनसरी / नेपाल विद्युतिय प्राविधिक समूह (नेविप्रास) कोशी प्रदेशको अध्यक्षमा उमेश पोख्रेल निर्वाचित भएका छन्। सुन्दरहरैँचाको हसिना एग्रो टुरीजममा सम्पन्न पाँचौं साधारणसभा तथा दोस्रो महाधिवेशनबाट पोख्रेल नेतृत्वको नयाँ कार्यसमिति चयन गरिएको हो। महाधिवेशन सुन्दरहरैँचाको हसिना एग्रो टुरिजममा सम्पन्न भएको थियो, जसमा संघीय सांसद अशोक कुमार चौधरी प्रमुख अतिथि थिए भने अध्यक्षता निवर्तमान अध्यक्ष यज्ञ राज दाहालले गरेका थिए।
महाधिवेशनले पोख्रेललाई अध्यक्षमा चयन गर्दै अन्य पदाधिकारीहरू पनि सर्वसम्मतिले निर्वाचित गरेको छ। उपाध्यक्षमा नवजीवन अधिकारी, सचिवमा वीर बहादुर लामा, सह-सचिवमा केदार भण्डारी, र कोषाध्यक्षमा नवीन पौडेल निर्वाचित भएका छन्। कार्यसमितिका सदस्यहरूमा सविन लम्साल, दीपेन्द्र सिंहक लिम्बु, मणिकुमार परियार, अमलेश मेहता, माधव घिमिरे, र ललित सिंह राई (बिष्णु) निर्वाचित भएका छन्।
पूर्व अध्यक्ष यज्ञ राज दाहालले आफ्नो कार्यकालमा समूहलाई चार वर्षसम्म सफलतापूर्वक सञ्चालन गर्दै विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरेको उल्लेख गरे। उनले नयाँ कार्यसमितिलाई पनि त्यही उत्साह र जुझारुपनका साथ अघि बढ्न आग्रह गरे।
नव निर्वाचित अध्यक्ष उमेश पोख्रेलले समूहको समग्र प्राविधिक समुदायको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले समूहलाई अझै मजबुत र प्रभावकारी बनाउन आफ्नो कार्यकालमा नयाँ योजनाहरू कार्यान्वयन गरिने बताए। पोख्रेलले कोशी प्रदेशका सम्पूर्ण विद्युत प्राविधिकहरूको अधिकारका लागि निरन्तर लड्ने प्रतिवद्धता पनि जनाए।
समारोहमा संघीय सांसद अशोक कुमार चौधरीले विद्युतिय प्राविधिकहरूको मुद्दामा सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउँदै, राज्यले समूहलाई संरक्षकत्व दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरे। उनले आगामी दिनमा विद्युत प्राविधिक समूहको हितमा काम गर्न सरकारलाई दबाब दिने वाचा गरे।
नव निर्वाचित सचिव वीर बहादुर लामाले समूहको संगठनात्मक सुदृढीकरणका लागि आफ्नो टिमले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भविष्यमा समूहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना रहेको उल्लेख गरे।
कार्यक्रममा सुन्दरहरैँचा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष गणेश चौधरी, आइस्मा नेपालका मेनेजर गणेश दाहाल, नेपाल विद्युतिय प्राविधिक समूहका सदस्यहरू, र विभिन्न संघ संस्थाका पदाधिकारीहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रम अत्यन्तै उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो।


