विराटनगर /  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी ब्यारेज र वराह क्षेत्र आसपासका डुबान क्षेत्रको निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा मुख्यमन्त्री कार्की तथा तीनवटै सुरक्षानिकायका प्रदेश प्रमुख सहभागी थिए।

मुख्यमन्त्री कार्कीले वराह क्षेत्र नगरपालिका ६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्धार गर्न सुरक्षानिकायका प्रमुखहरूलाई आग्रह गरे ।

स्थलगत निरीक्षणपछि मुख्यमन्त्री कार्कीले उनीहरूको उद्धारका लागि सुरक्षानिकायसँग समन्वय गरेका छन्। उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ। यस्तै प्रदेशभर वर्षा भइरहेको र बाढी पहिरो आइरहेको अवस्थामा तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

अहिले प्रदेशका सबै बाढी पहिरो गएको क्षेत्रमा उद्धार र राहतको काम शुरु भएको मुख्यमन्त्री कार्कीले जानकारी दिए। अहिले कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३१ हजार ७५० क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको छ।

कोशीमा पानीको बहाव लगातार बढेपछि मुख्यमन्त्री कार्कीको निरीक्षणलगत्तै कोशी ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारीसाधन वारपार गर्न रोक लगाइएको छ।