इटहरी / इटहरीको उद्गम बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औं साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ। यो सभा प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो भने सहकारीका अध्यक्ष मिलन त्रितालले कार्यक्रमको अध्यक्षता गरेका थिए। त्रितालले यस अवसरमा संस्थाको विगत वर्ष (२०८०/८१) को वार्षिक प्रतिवेदन तथा आगामी वर्षका लागि तय गरिएको कार्ययोजना प्रस्तुत गरेका थिए।

संस्थाले विगत १३ वर्षदेखि इटहरीमा निरन्तर रूपमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ। यो सहकारीले सदस्यहरूको वित्तीय विकास र सामाजिक सेवामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ। यस वर्षको साधारण सभामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने सदस्यहरूलाई सम्मान गरियो। उत्कृष्ट बचतकर्ताहरूबाट पाँच जनालाई, उत्कृष्ट ऋण ग्राहीहरूलाई पाँच जनालाई सम्मान गरियो। त्यस्तै, जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै तीन जना ज्येष्ठ सदस्यहरूलाई पनि कार्यक्रममा विशेष सम्मान प्रदान गरियो। कक्षा १० को एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने दुई विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष मिलन त्रितालले संस्थाले सदस्यहरूको हकहितमा निरन्तर काम गरिरहेको र यसका लागि पारदर्शिता, विश्वास, र भाइचाराको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले सदस्यहरूका लागि वित्तीय सेवा मात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवाहरू प्रदान गर्दै आएको उल्लेख गरे ।

प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीले आफ्नो मन्तव्यमा सहकारी संस्थाहरूले आर्थिक विकासमा खेलेको भूमिकाको चर्चा गर्दै पारदर्शिता, सुशासन, र सही नीतिमा अडिग रहेर काम गर्नुपर्नेमा जोड दिए। चौधरीले संस्थालाई थप सफल बनाउन नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरूले इमान्दारीका साथ काम गर्नुपर्ने आवश्यकता औंल्याए।

यस साधारण सभामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरिने जानकारी गराइयो। संस्थाले वर्षभरि तीज विशेष कार्यक्रम, रक्तदान, निशुल्क स्वास्थ्य परीक्षण, विद्यार्थीहरूलाई विभिन्न शीर्षकमा सम्मान, विद्यालयहरूमा सहयोगजस्ता सामाजिक कार्यहरू गर्दै आएको छ।

साधारण सभामा संस्थाको सेयर पुँजी १० करोड ९० लाख ९७ हजार २१९ रूपैयाँ पुगेको जानकारी गराइएको थियो। कार्यक्रममा प्रमुख अतिथि अशोक कुमार चौधरीलाई संस्थाले विशेष सम्मान प्रदान गर्‍यो। साथै, नव दृष्टि अस्पताल इटहरीले निशुल्क आँखा शिविर आयोजना गर्‍यो भने नेपाल रेडक्रस सोसाइटी इटहरीको सहयोगमा रक्तदान कार्यक्रमसमेत गरिएको थियो।

साधारण सभामा इटहरी उपमहानगरपालिकाको सहकारी शाखाका प्रमुख बालकुमार पोख्रेल, सहकारीका सदस्यहरू, पदाधिकारीहरू, र अन्य विभिन्न व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमले संस्थाको आगामी योजना र सामाजिक उत्तरदायित्वलाई थप सशक्त बनाउने लक्ष्य राखेको छ।