इटहरी / इटहरी उपमहानगरपालिकाले नगरका समस्याहरू समाधान गर्न विभिन्न योजना र कार्यक्रमहरू संचालन गरिरहेको भए पनि, ती योजना धेरैजसो कागजी योजनामा मात्र सीमित हुने गरेको नागरिकहरूबीच असन्तुष्टि छ। इटहरीको तीव्र सहरीकरणसँगै नगरपालिकाको समग्र व्यवस्थापनमा देखिएका चुनौतिहरू अझै पूर्ण रूपमा सम्बोधन हुन सकेका छैनन्।
फोहोरमैला व्यवस्थापनमा चुनौती
इटहरी उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि केही सकारात्मक कदम चालेको छ, जस्तै फोहोर निस्तारणका लागि नयाँ स्थानको खोजी र पुनः प्रयोगको अवधारणालाई प्रवर्द्धन गर्नु। तर यसमा अझै धेरै काम गर्न बाँकी छ। फोहोरको मात्रा बढ्दै जाँदा व्यवस्थापनमा कठिनाइ आएको छ, जसले नगरको सफाइ र जनस्वास्थ्यमा प्रत्यक्ष असर पुर्याइरहेको छ। चाडपर्वको समयमा विशेषगरी बजार क्षेत्रमा फोहोर संकलन नियमित रूपमा हुन नसक्दा वातावरणीय समस्याहरू उत्पन्न हुने गरेको छ।
खानेपानी समस्या
इटहरी उपमहानगरपालिकामा खानेपानीको नियमित आपूर्तिमा लामो समयदेखि समस्या छ। वर्षाका बेला पानीको आपूर्ति अलिकति सहज भए पनि सुख्खा मौसममा पानीको चरम अभाव हुने गर्दछ। यस समस्यालाई समाधान गर्न उपमहानगरपालिकाले खानेपानी परियोजना अन्तर्गत केही नयाँ ट्यांकी निर्माण, पाइपलाइन विस्तार, र बोरिङको संख्या बढाउने प्रयास गरिरहेको छ। तर, यी प्रयासहरू सबै नगरवासीको आवश्यकता पूरा गर्न पर्याप्त भएका छैनन्। यसैले, दीर्घकालीन समाधानका लागि ठूला परियोजनाहरूको कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकतालाई कार्यक्रमले औंल्याएको छ।
विद्युत आपूर्ति र व्यवस्थापन
विद्युत कटौती पनि इटहरीको प्रमुख समस्यामध्ये एक हो। चाडपर्वको समयमा विशेष गरी अत्यधिक मागले गर्दा विद्युतको कटौती हुने गरेको छ। यसका कारण उद्योग, व्यापारिक प्रतिष्ठानहरू र सर्वसाधारणले दैनिक जीवनयापनमा कठिनाइ भोग्नुपरेको छ। इटहरी उपमहानगरपालिकाले यस समस्यालाई सम्बोधन गर्न नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गर्दै विद्युत आपूर्तिमा सुधार गर्ने योजनाबारे छलफल गरिरहेको छ। विशेषगरी चाडपर्वका समयमा बिजुलीको अत्यधिक प्रयोगले वितरण प्रणालीमा असर गर्ने भएकाले यसमा नयाँ प्रविधि र योजनाहरूको आवश्यकता रहेको छ।
यातायात र ट्राफिक व्यवस्थापन
इटहरी उपमहानगरको एक अर्को जटिल समस्या भनेको ट्राफिक व्यवस्थापन हो। प्रमुख बजार क्षेत्रहरूमा पार्किङको अभाव, ट्राफिक संकेतको अभाव, र सडकहरूमा हुने जामले गर्दा आवतजावतमा समस्या उत्पन्न हुने गरेको छ। यसका साथै, बजारमा निःशुल्क पार्किङ व्यवस्थापनको अभावले अतिक्रमण र अव्यवस्थित पार्किङको समस्या बढाएको छ। यसलाई सुधार गर्न उपमहानगरपालिकाले ट्राफिक प्रहरीले विभिन्न नीतिहरू लागू गरिरहेको छ। यद्यपि, यी कदमहरू अझै प्रभावकारी हुन सकेका छैनन्।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाले ट्राफिक व्यवस्थापनको लागि दीर्घकालीन समाधानका लागि नयाँ सडक निर्माण, पार्किङ स्थलको व्यवस्था, र डिजिटल ट्राफिक व्यवस्थापन प्रणालीलाई लागू गर्ने योजना प्रस्तुत गरेको थियो। यस्तै, बजार क्षेत्रमा हुने सवारी चापलाई घटाउन वैकल्पिक मार्गहरूको विकासमा पनि ध्यान दिनुपर्ने सुझाव दिइएको छ।
बजार अनुगमन र महँगी नियन्त्रण
महँगी पनि इटहरीका सर्वसाधारणले भोगिरहेको प्रमुख समस्या हो। विशेषगरी चाडपर्वको समयमा बजारमा खाद्यवस्तु र अन्य सामग्रीको मूल्यमा अप्रत्याशित वृद्धि हुने गरेको छ। इटहरी उपमहानगरपालिकाले यस समस्यालाई सम्बोधन गर्न खाद्य अनुसन्धान शाखामार्फत नियमित बजार अनुगमन गर्दै आएको छ। कार्यक्रमका क्रममा उपमहानगरपालिकाका खाद्य अनुसन्धान शाखा प्रमुख अनु अर्यालले बजार अनुगमनका क्रममा भेटिएका समस्या र समाधानका लागि गरिएको कदमबारे जानकारी गराएका थिए। तर, नागरिकहरूले बजार अनुगमनको प्रभावकारिता बढाउन र मूल्यवृद्धिको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न थप कडाइका साथ कानुनी व्यवस्था लागू गर्नुपर्ने माग राखेका थिए।
आगामी योजना र सुझाव
इटहरी उपमहानगरपालिकाले आफ्ना समस्याहरू समाधान गर्न नागरिकहरूको प्रत्यक्ष सहभागिता आवश्यक रहेको बताउँदै आएको छ। उपमहानगरले आफ्ना योजना र गतिविधिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न, संघीय सरकारसँगको समन्वयलाई अझ सुदृढ गर्दै जनस्तरमा पहुँच पुग्नेगरी काम गर्नुपर्ने देखिएको छ।
नागरिक समाज इटहरीद्वारा प्रस्तुत कार्यपत्रले समसामयिक समस्याहरूलाई सम्बोधन गर्ने योजनाका लागि सुझावहरू प्रस्तुत गरेको छ। यसमा विशेषगरी नगरपालिकाले फोहोर व्यवस्थापनमा ठूला परियोजनाहरू अघि बढाउन, खानेपानीको आपूर्ति सुधार गर्न, ट्राफिक व्यवस्थापनमा प्रविधिको उपयोग गर्न, र बजार अनुगमनलाई कडाइका साथ लागू गर्नुपर्ने सुझावहरू राखिएको छ।
अन्त्यमा, कार्यक्रमले इटहरी उपमहानगरपालिकालाई आफ्नो जिम्मेवारी पूरा गर्न थप नागरिक सरोकार र सहकार्यको आवश्यकता रहेको औंल्याएको छ।


