रामधुनी / सुनसरीको रामधुनी नगरपालिकाले विद्यालय वृत्ति - मार्गनिर्देशन कार्यक्रमको अभिमुखीकरण सम्पन्न गरेको छ। दीगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना (ENSSURE) अन्तर्गत, रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरीको अध्यक्षतामा, आर्थिक वर्ष २०८१/०८२ का लागि विद्यालय वृत्ति - मार्गनिर्देशन कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।
यस कार्यक्रमको आयोजना ENSSURE/Helvetas नेपालको प्राविधिक सहयोगमा गरिएको थियो। विद्यालयबाट कामको संसारमा स्थानान्तरण गर्ने कार्यक्रम (School to Work Transition Program) कक्षा ८, ९, र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित छ। कार्यक्रमको उद्देश्य बिद्यार्थीलाई माध्यमिक शिक्षासँगै कामको संसारमा सहज प्रवेशको लागि आवश्यक व्यवहारिक ज्ञान र सीप प्रदान गर्नु हो।
विद्यार्थीहरूको सिकाइ सँग सँगै शिक्षाका लागि कार्यक्रमले महत्त्वपूर्ण सहयोग गर्ने रामधुनी नगरपालिका उपप्रमुख तारा थापाले बताउनुभयो ।
विद्यार्थीका लागि कार्यक्रम निकै महत्त्वपूर्ण रहेको रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरीले बताउनुभयो ।
यस कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरी, शिक्षा शाखा प्रमुख राजन कुमार गेलाल, रामधुनी नगरपालिकाका १० वटै विद्यालयका प्रधानध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, तथा शिक्षकहरूको सहभागिता थियो।
कार्यक्रममा विभिन्न पेशा व्यवसायमा सफलता प्राप्त गरेका उद्यमी र पूर्व विद्यार्थीहरूसँग अन्तरक्रिया तथा उत्प्रेरणा सत्रजस्ता क्रियाकलापहरू पनि समावेश गरिएका थिए, जसले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान आदानप्रदानको अवसर प्रदान गर्यो।


