रामधुनी / सुनसरीको रामधुनी नगरपालिकामा आयोजित प्रथम रामधुनी उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि आरआइ एफसी काठमाण्डौंले जितेको छ। रामधुनी नगरपालिकाको खेलकुद क्षेत्रलाई अगाडि बढाउन र स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएका थिए।

रामधुनी वडा नं. ४ को सिक्दार माझीटोल इक्राही खेलमैदानमा भएको यस प्रतियोगितामा आरआइ एफसी काठमाण्डौं र रामधुनी युवा क्लब झुम्काबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक रह्यो। खेलको दौरानमा आरआइ एफसी काठमाण्डौंले पहिलो हाफमै १ गोल गर्दै आफ्नो अग्रता बनाएर राखेको थियो। रामधुनी युवा क्लब झुम्काले अन्तिम समयसम्म निरन्तर प्रयास गरे पनि गोल गर्न असफल भयो, जसका कारण आरआइ एफसी काठमाण्डौं विजेता बन्यो।

विजेताको रूपमा आरआइ एफसी काठमाण्डौंले ५१ हजार नगद पुरस्कार, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता रामधुनी युवा क्लब झुम्काले ३१ हजार नगदसहित मेडल, प्रमाणपत्र र ट्रफी जितेको छ। प्रतियोगिताको म्यान अफ द म्याचको उपाधि आरआइ एफसी काठमाण्डौंका नितेश लिम्बुले प्राप्त गरे।

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले खेलाडीहरूलाई शुभकामना दिंदै भन्नुभयो, "खेलकुद युवाहरूलाई अनुशासन, संयम र सशक्त बनाउने माध्यम हो। यस प्रकारका खेलकुद प्रतियोगिताहरूले मात्र स्थानीय स्तरमा खेलाडीहरूको क्षमतामा वृद्धि गराउँछ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउँछ। रामधुनी नगरपालिका जस्तो ठाउँमा खेलकुदको विकास हुनु अत्यन्त सकारात्मक संकेत हो। खेलकुदको विकासमा म निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।"

रामधुनी नगरपालिकाकी उपमेयर तारा थापाले पनि प्रतियोगिताको महत्त्वलाई जोड दिँदै भनिन्, "खेलकुदले युवाहरूलाई एकताको भावना पैदा गर्न मात्र होइन, उनीहरूको मानसिक र शारीरिक विकासमा पनि ठूलो भूमिका खेल्छ। यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई प्रोत्साहन मात्र गरेन, नगरपालिकालाई राष्ट्रिय स्तरमा चिनाउन पनि योगदान पुर्याएको छ। आगामी दिनमा यस्ता प्रतियोगिताहरूलाई अझ व्यापक र व्यवस्थित रूपमा आयोजना गरिनेछ।"

प्रतियोगितामा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो, जसमा माझी, उराँव, र थारू समुदायका झाँकीहरूले खेललाई अझ रोचक बनाएका थिए। झाँकी प्रदर्शनमा सहभागी भएका टिमहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिएको थियो।IMG_20240924_162758

समापन समारोहमा रामधुनी नगरपालिकाका प्रमुख शंकर लाल चौधरी, बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, विभिन्न गाउँपालिकाका अध्यक्षहरू, रामधुनी नगरपालिकाका १० वटै वडा अध्यक्षहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधि, खेलाडीहरू, र स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो।

यस प्रकारको आयोजनाले खेलकुदलाई नगरस्तरमा मात्र सीमित नराखी, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि खेलाडीहरूलाई अघि बढाउने उद्देश्य राखेको आयोजक रामधुनी आदर्श संस्थाका अध्यक्ष केशव बहादुर खड्काले बताउनुभयो। "पिछडिएको र गरिब क्षेत्र भएकाले यहाँका खेलाडीलाई प्रोत्साहन दिन यो प्रतियोगिता आयोजना गरिएको हो। यसले खेलकुदमा स्थानीय युवाहरूको रुचि बढाएर उनीहरूलाई देशको प्रतिष्ठा बढाउन सहयोग पुर्याउँछ," उहाँले थप्नुभयो।

प्रतियोगितामा स्थानीय खेलाडीहरूको प्रतिभा उजागर हुनुका साथै यसले रामधुनी नगरपालिकालाई खेलकुदको क्षेत्रमा नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।