सुनसरी | अनेरास्ववियु जनता बहुमुखी क्याम्पस कमिटीले यस वर्षको विजया दशमी, शुभदिपावली, छैठ पर्व तथा जितिया पर्वको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गर्‍यो। यस कार्यक्रमले केवल चाडपर्वको उत्सव मनाउने मात्र नभई, नेपाली समाजमा रहेका विविध जातीय र सांस्कृतिक परम्परालाई उजागर गर्दै, सबैको सहभागितामा एकताको सन्देश फैलाएको छ।

कार्यक्रमको अध्यक्षता अनेरास्ववियु जनता बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सन्तोष तिम्सिनाले गरेका थिए भने प्रमुख अतिथिको रूपमा अनेरास्ववियु कोशी प्रदेश कमिटीका अध्यक्ष जिबि गजलको गरिमामय उपस्थिति रहेको थियो। विशेष अतिथि तथा स्थानीय विशिष्ट व्यक्तित्वहरू पनि कार्यक्रममा सहभागी थिए। प्रमुख अतिथिले युवावर्ग, विशेषगरी विद्यार्थीहरू समाज परिवर्तनको महत्वपूर्ण शक्ति भएकोमा जोड दिँदै, सामाजिक विकृति र विसंगतिहरूको अन्त्य गर्न विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहेको औंल्याए।

अनेरास्ववियु कोशी प्रदेश अध्यक्ष जिबि गजलले आफ्नो सम्बोधनमा समाज परिवर्तनको संवाहकका रूपमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले विद्यार्थीलाई चाडपर्वलाई अनावश्यक खर्चिलो बनाउनुको सट्टा सामाजिक उत्तरदायित्व वहन गर्दै, विकृति र विसंगति विरुद्ध सचेतना फैलाउन प्रेरित गरे। "चाडपर्वलाई हर्षोल्लासपूर्वक मनाउँ, तर यसको नाममा हुने विकृतिहरूलाई अन्त्य गर्न अग्रसर रहनुपर्छ," उनले भने। गजलको विचारले कार्यक्रमको उद्देश्य र विद्यार्थीहरूको दायित्वलाई अझ स्पष्ट पारिदिएको थियो।

कार्यक्रमको मुख्य आकर्षण भनेको विभिन्न जातजातिका सांस्कृतिक नृत्य र गायन प्रस्तुति थियो। नेपालमा रहेका बहुजातीय, बहुसांस्कृतिक समाजको झल्को दिने किसिमका प्रस्तुतिहरूले उपस्थित दर्शकहरूलाई मोहित तुल्याए। विभिन्न समुदायका विद्यार्थीहरूले आ-आफ्ना परम्परागत वेशभूषामा सजिएर सांस्कृतिक प्रस्तुति दिए, जसले नेपाली समाजको सांस्कृतिक धरोहरको संरक्षणमा योगदान पुर्‍याएको महसुस भयो।

कार्यक्रममामा नेकपा एमाले केन्द्रीय सदस्य तथा इटहरी उपमहानगरपालिकाकि पुर्व उपप्रमुख  लक्ष्मी गौतम ,इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरी , जनता बहुमुखी क्याम्पस प्रमुख डा. गिता अधिकारी, अनेरास्ववियु जनता बहुमुखी क्याम्पसका पदाधिकारी , क्याम्पसका शिक्षक , क्याम्पसमा अध्यनरत स्नातहकका विद्यार्थी लगाएतको उपस्थिति रहेको  थियोे ।