बराहक्षेत्र / बराहक्षेत्र नगरपालिकामा सामाजिक र मानवीय सेवामा सक्रिय रहेको संस्था लायन्स क्लब अफ सप्तकोशी डायनामिकले चक्रघट्टी बजारको सौन्दर्यकरण तथा बजारको सरसफाइमा सहयोग पुर्याउने उदेश्यले संविधान दिवसको अवसर पारेर सडक पेटीमा डस्टबिन तथा फुलको गमला राख्ने कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिकाले गत बर्ष राखेका डस्टबिनहरू कतिपय फुटेका, हराएका र प्रयोग गर्न नसकिने अवस्थाका भएकाले फोहोर व्यवस्थापनमा असहजता भएको महशुस भएकाले क्लबको तर्फबाट बिजुलीको पोलमा फलामको स्टेन सहितको डस्टबिन राखिएको कार्यक्रमका व्यवस्थापक क्लबका सदस्य ऋतेष जैसवालले बताए ।

पहिलो चरणमा चक्रघट्टी बजारको मुख्य बजार मुनाल चोकदेखि बुधबारे चोक जाने बाटोमा डस्टबिन तथा फलामको गमला राख्ने स्टेन सहितको फूलको गमला राखिएको क्लबका अध्यक्ष सुजित कुमार रायले बताए ।

"हामी बिस्तारै सहरीकरणतर्फ लम्किरहेका छौँ । फोहोरको उत्सर्जन त्यही मात्रामा भइरहेको छ । त्यसैले बजारको फोहोरको व्यवस्थापनमा केही सहयोग होस् भनेर डस्बिन तथा बजारको सौन्दर्यकरणका लागि गमला र फूल राख्ने कार्य गरेका हौँ ।" -अध्यक्ष रायले बताए ।1726844720686

"लायन्स क्लब विशेषत मानवीय सेवाका क्षेत्रमा काम गर्ने भए तापनि सामाजिक संस्था भएका हिसाबले सामाजिक रूपान्तरणमा केही सहयोग गरौँ भनेर अहिले पहिलो चरणको कार्यक्रम सम्पन्न गर्यौ । आगामी दिनमा निरन्तर बजार क्षेत्रको सरसफाइ र सौन्दर्यकरणका लागि हामी लागिरहने छौँ ।" -क्लबका पूर्व अध्यक्ष तथा लायन्स क्लबका जोन चेयर पर्सन बिक्रम कर्णले भनें ।

"मेयर साब निरन्तर नगरलाई सफा र स्वच्छ नगर बनाउँछु भनेर लागिरहनु भएको छ । निरन्तर हुने सरसफाइ कार्यक्रमले धेरै हदसम्म बजार सफा भएको हामीले देखि नै रहेका छौँ । वहाँकै अभियानलाई केही टेवा पुर्याउँ र आफ्नो नगर आफै सफा राखौँ भन्ने उदेश्यले नगरपालिकाले घोषणा गरेको त्रिदिवसीय संविधान दिवस विशेष कार्यक्रमसंग जोडिएर यो कार्यक्रम तय गरिएको हो ।" -क्लबका संस्थापक अध्यक्ष सन्तोष चौलागाईंले बताए ।

क्लबले बिगतका दिनहरूदेखि निरन्तर स्वास्थ्य सिविर, खाद्यान्न वितरण कार्यक्रम, विद्यालयहरूमा कपी, स्टेशनरी सामान तथा पंखा वितरण, न्यानो कपडा वितरण, बिरामी तथा निसहायहरूलाई आर्थिक सहयोग लगायतका उल्लेखनीय मानवीय सेवाका कार्यहरू गर्दै आइरहेको छ ।