सुनसरी / सुनसरीमा नेपाली कांग्रेसले वीपी सप्ताह सुरु गरेको छ, जसको सुरुवात रामधुनी ५ स्थित झुम्का मिनी पार्कमा वृक्षारोपण कार्यक्रमसँगै भएको हो। नेपाली कांग्रेसका संस्थापक तथा जननायक विश्वेश्वरप्रसाद कोइराला (वीपी)को जन्मजयन्तीको अवसरमा आयोजित यस सप्ताह कार्यक्रमको उद्घाटन कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले गरेका थिए।
कार्यक्रमको उद्घाटन गर्दै ढुंगानाले वीपी कोइरालाको जीवनबाट सबैले प्रेरणा लिनुपर्ने बताए। उनले रूख रोप्नुलाई पर्यावरण र पर्यटन विकाससँग जोड्दै यसको संरक्षण पनि जरुरी भएको उल्लेख गरे।
यस वर्षको वीपी सप्ताह कार्यक्रम अन्तर्गत पहिलो दिन वृक्षारोपण र सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। सरसफाईसँगै उक्त क्षेत्रमा डस्बिनहरू पनि राखिएको छ। वृक्षारोपणमा विभिन्न प्रजातिका एक सय एक वटा बिरूवा रोपिएको थियो।
सुनसरी क्षेत्र नं. २ (क) का सभापति सुबेक्छु देवानले यस वर्ष दोस्रो पटक वीपी सप्ताह मनाइएको जानकारी दिए। उनका अनुसार, आगामी शनिबार ‘कंग्रेस रन २०८१’ र सोमबार वीपी साहित्य सन्ध्या कार्यक्रमको आयोजना गरिनेछ। रनमा करिब पाँच सय सहभागी हुनेछन् भने विजेताहरूलाई पुरुष र महिलातर्फ छुट्टाछुट्टै पुरस्कार प्रदान गरिनेछ। साहित्य सन्ध्या कार्यक्रममा पाँचजना कविहरूले कविता वाचन गर्नेछन् र वीपीको व्यक्तित्वमाथि बहस कार्यक्रम हुनेछ।
बुधबारको उद्घाटन कार्यक्रममा कांग्रेस जिल्ला सचिव वीरेन्द्र साह, रामधुनी नगर सभापति सुदीप अधिकारी, इटहरी उपमहानगर उपसभापति बालकृष्ण विष्ट, रामधुनी ५ का वडाध्यक्ष भोला बास्तोला, र कांग्रेस प्रदेश प्रतिनिधि विज्ञान राईलगायतले पनि आफ्ना विचार राखेका थिए।
सभापति देवानले वीपीलाई अध्ययन गर्न सबै नेपालीले आवश्यक रहेको बताए। उनले भने, "वीपीको विचारलाई टेकेर राज्यले अघि बढ्न आवश्यक छ।" कार्यक्रमले वीपीको विचार, साहित्य र व्यक्तित्वबारे व्यापक बहस र छलफलको वातावरण सिर्जना गर्ने उद्देश्य राखेको छ।


