विराटनगर / कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा कार्यक्रम निरन्तर रहेको प्रस्ट्याएको छ ।
मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै बालबालिकाहरूको निःशुल्क उपचार सेवा रोकिएको भन्ने भ्रामक समाचारहरू आइरहेको भन्दे यो सेवा निरन्तर रहेको जानकारी दिएको हो ।
भ्रमपूर्ण समाचारहरू सामाजिक सञ्जालमा आइरहेकोप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । यो आर्थिक वर्षका लागि चार करोड २९ लाख रुपैयाँ १० वर्षमुनिका बालबालिकाहरूको निःशुल्क उपचारका लागि विनियोजन भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश मातहतका सबै अस्पतालबाट सो सेवा लिन सकिने मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहेताले बताए ।
त्यसैगरी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्न चालू आर्थिक वर्ष २०८१।८२ मा बजेटको व्यवस्था गरी पहिलोपटक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका बीमा कार्यक्रम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै एक पालिका, एक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रम र महिला स्वास्थ्य स्वयंसेविका स सम्मान विदाई कार्यक्रमलाई निरन्तरता दिइएको विज्ञप्तीमा उल्लेख छ ।
मन्त्रालयका अनुसार कडा रोग लागेका व्यक्तिहरूका लागि उपचार सहायता कार्यक्रमका लागि आर्थिक वर्ष २०८१।८२ को पाँच करोड रूपैयाँ विनियोजन गरिएको छ ।


