पाँचथर— पाँचथरको फालेलुङ गाउँपालिका-५, प्राङवुङको डाडागाउँ टोलमा भएको विस्फोटमा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ। स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवाको उपचारका लागि झापा लैजाँदै गर्दा राति १ बजे बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो। यसअघि, दिलिप साँवाकी २.५ वर्षीया छोरी प्रिन्साको इलाम पुर्याउँदा बाटोमै मृत्यु भएको थियो।
बिहीबार दिउँसो भएको उक्त विस्फोटमा दिलिप साँवाका छोरा र छोरीसहित ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन राई घाइते भएका थिए। घाइते बालक पवनको पाँचथर अस्पतालमा उपचार भइरहेको छ, र उनको अवस्था सामान्य रहेको जनाइएको छ।
विस्फोट भएको घर माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को हो, जहाँ ज्ञानबहादुर राईको परिवार बस्दै आएको थियो। स्थानीयले द्वन्द्वकालमा लुकाइएको बम विस्फोट भएको आशंका गरेका छन्।
जिल्ला प्रहरी कार्यालय, पाँचथरले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ।


