इटहरी - हरितालिका तीजको अवसरमा अनेमा संघ इटहरी नगर कमिटी इटहरी ४ ले सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष कार्यक्रम आयोजना गरेको छ। यस अन्तर्गत, इटहरी ४ स्थित नि:सहाय बालबालिका सेवा आश्रममा आश्रय लिएका बालबालिकाहरुलाई तीजको दर खुवाएर पवित्र पर्वको महत्त्वपूर्ण संस्कारलाई जोगाउने प्रयास गरिएको छ।

कार्यक्रममा ६० जना भन्दा बढी बालबालिकालाई भोजन गराइएको थियो। कार्यक्रमको अध्यक्षता अनेमा संघ इटहरी वडा नम्बर ४ की अध्यक्ष शाशी आचार्यले गर्नुभयो। प्रमुख अतिथिको रूपमा अखिल महिला संघ इटहरी नगर अध्यक्ष कमला निरौला र विशेष अतिथिको रूपमा नेकपा एमाले केन्द्रीय सदस्य लक्ष्मशि गौतमको उपस्थिति रहेको थियो। 

कार्यक्रमको प्रमुख उद्देश्य तीज पर्वको मौलिक संस्कृति संरक्षण गर्नु र समाजको हरेक वर्गलाई यसमा सहभागी गराउनु रहेको थियो। विशेष गरी, आश्रममा रहेका बालबालिकालाई तीजको दर खुवाएर उनीहरुको खुसीमा सहभागी बन्ने र उनीहरुलाई समाजको मुख्य धारमा ल्याउने सन्देश प्रवाह गरिएको थियो। 

अनेमा संघ इटहरी नगर कमिटीले मात्र भोजनको व्यवस्था नगरी, आश्रमलाई रु. १०,००० आर्थिक सहयोग पनि प्रदान गरेको छ। यसले आश्रमको दैनिक सञ्चालन र बालबालिकाको हेरचाहमा ठुलो सहयोग पुगेको बताइएको छ। 

कार्यक्रममा बोल्दै अनेमा संघ इटहरी नगर सचिव रञ्जु सिग्देलले भनिन्, "तीजको संस्कृति जोगाउनका लागि मात्र होइन, समाजमा रहेका यस्ता बालबालिकालाई साथ दिने हाम्रो मुख्य उद्देश्य हो। तीजको परम्परालाई कायम राख्दै हामीले उनीहरुका लागि यो विशेष अवसरको आयोजना गरेका हौँ।" 

अनेमा संघ इटहरी नगर वडा नम्बर ४ की अध्यक्ष शाशी आचार्यले पछिल्लो समय तीज पर्वमा देखिएको भड्किलोपनलाई रोक्न र तीजको मौलिकतामा फर्कन यस्ता कार्यक्रमको आवश्यकता रहेको बताइन्।IMG_20240828_161253

आश्रमले अनेमा संघ इटहरी नगर कमिटीको यस प्रकारको सहयोगलाई महत्वपूर्ण मान्दै आगामी दिनमा पनि यसरी नै सामाजिक कार्यमा सहभागी भई सहयोग गर्ने आशा व्यक्त गरेको छ। अनेमा संघ इटहरीले तीजको विशेष कार्यक्रममार्फत नगरभर सामाजिक कार्य गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने योजना रहेको जानकारी दिएको छ।

यो कार्यक्रमले तीज पर्वको वास्तविक मर्मलाई पुन:स्थापित गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।