सुनसरी / धरानमा पहिलो पटक सुनसरी जिल्लाका महिला उद्यमीहरूको उत्पादन र व्यवसायको प्रदर्शनी र व्यापार मेला आयोजना हुन गइरहेको छ। सुनसरी उद्योग वाणिज्य सङ्घद्वारा आयोजित यो मेला भदौ १३ देखि १५ गतेसम्म सङ्घको भवन परिसर र सभाहलमा आयोजना हुनेछ। मेलामा ४५ वटा स्टलहरू रहनेछन्।
सङ्घका अध्यक्ष विजय श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा मेला आयोजना गर्नको उद्देश्य चाडबाडको समयमा महिलाहरूको उद्यमलाई प्रोत्साहित गर्दै धरानको बजारमा चहलपहल ल्याउनु रहेको बताए। यो मेलाले सुनसरीका महिला उद्यमीहरूको उत्पादनलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा विभिन्न प्रकारका घरेलु उत्पादन, गरगहना, सौन्दर्य सामग्री, कृषिजन्य वस्तु, खाद्यान्न तथा अन्य उत्पादनहरूको प्रदर्शनी हुने मेला संयोजक वर्षा अग्रवाल श्रेष्ठले जानकारी दिइन्। उनले मेलामा विभिन्न खाजाका परिकारहरू र विजयपुर हस्पिटलको सहयोगमा स्वास्थ्य सेवा तथा आँखा शिविर समेत सञ्चालन गरिने बताइन्।
सङ्घका अनुसार, यो मेलाले सुनसरीका महिला उद्यमीहरूलाई बैंकिङ ऋण उपलब्ध गराउन सहयोग पुर्याउने उद्देश्य राखेको छ। मेला करिब १० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ र करिब १५ लाख रुपैयाँको कारोबार हुने लक्ष्य राखिएको छ। मेलामा धरान उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, हिमालय बैंक लगायतका संस्थाहरूले सहयोग गरेका छन्।


