संखुवासभा / कोशी राजमार्गअन्तर्गत धरान-धनकुटा सडक खण्डमा पर्ने धनकुटा नगरपालिका-६ फोकल्याण्ड टापु नजिक बोलेरो गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा दुई बालबालिका घाइते भएका छन्।

संखुवासभाको मादीबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको को १ ज २१३७ नम्बरको बोलेरो गाडी दिउँसो करिब साढे १ बजे ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेको थियो। दुर्घटनामा १६ वर्षीया युष्मा तामाङ र १० वर्षीय रदम तामाङ घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको र हाल धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गाडीमा चालकसहित ११ जना सवार थिए। ब्रेकमा समस्या देखिएपछि मर्मतको लागि ग्यारेजमा लैजाने क्रममा गाडी भीरबाट तल खसेको जनाइएको छ।