धनकुटा / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको अन्तिम नतीजामा धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका उत्कृष्ट स्थानीय सरकार बन्न सफल भएको छ।

यो गाउँपालिकाले कुल ८१ अंक प्राप्त गर्दै जिल्लाभित्रका सातवटा स्थानीय तहहरूमा शीर्ष स्थान हासिल गरेको हो। खाल्सा छिन्ताङ्ग सहीदभूमि गाउँपालिका ७९.५० अंकसहित दोस्रो स्थानमा आउँदा चौबिसे गाउँपालिकाले ७४.२५ अंक प्राप्त गरी तेस्रो स्थानमा रहेको छ।

छथर जोरपाटी गाउँपालिकाले विभिन्न सूचकहरूमा उत्कृष्ट प्रदर्शन गरेको छ। शासकीय प्रबन्धमा ८ अंक, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ९.७५ अंक, सेवा प्रवाहमा १४.७५ अंक, र भौतिक पूर्वाधारमा १०.५ अंकसहित उच्च अंक प्राप्त गर्दै गाउँपालिका शीर्ष स्थानमा उक्लिएको हो।

खाल्सा छिन्ताङ्ग सहीदभूमि गाउँपालिकाले पनि विभिन्न सूचकहरूमा उच्च अंक हासिल गर्दै दोस्रो स्थानमा रहन सफल भएको छ।

यस मूल्याङ्कनमा धनकुटा नगरपालिकाले सबैभन्दा कम ६० अंक प्राप्त गरेको छ, जसले गर्दा यसको संस्थागत क्षमता अन्य स्थानीय तहहरू भन्दा कमजोर देखिएको छ।