इटहरी / काठमाडौंमा विशेष रूपमा नेवार समुदायले मनाउँदै आएको गाईजात्रा पर्व अब तराईका जिल्लाहरूमा पनि लोकप्रिय हुँदै गएको छ । 

इटहरीमा नेवार समाजले संयुक्त रूपमा गाईजात्रा पर्व मनाएका छन् , जसमा वडा नम्बर ४, ६, र १६ का नेवार समुदायका सदस्यहरू सहभागी भएका छन् । यो पर्व दिवंगत आफन्तहरूको सम्झनामा मनाइन्छ, जहाँ साना बालक तथा युवालाई विशेष रूपमा सिँगारी, गाई वा मानिसको रूप दिन्छन् र तिनीहरूलाई आ–आफ्ना इलाकामा परिक्रमा गराइन्छ । 

पहिले यो पर्व काठमाडौंमा मात्र सीमित थियो, तर व्यापार र कामकाजको सिलसिलामा नेवार समुदाय तराई झरेपछि यो पर्व तराईका जिल्लाहरूमा पनि मनाउन थालिएको हो । यस वर्ष गाईजात्रामा सहभागिता जनाउनेको संख्या उल्लेख्य रूपमा बढेको छ र समुदायका धेरै मानिसहरूले यो पर्वमा सक्रिय सहभागिता जनाएका छन् ।

दिवंगत आफन्तहरूको सम्झनामा  इटहरीका नेवार समुदायहरूको संयुक्त आयोजनामा गाइजात्रा मनाइएको नेवार समाज इटहरीका अध्यक्ष कालिदास श्रेष्ठले बताउनुभयो ।

इटहरीमा नेवार समुदायको महत्त्वपूर्ण योगदान रहेकाले समुदायको सम्मान र आगामी पुस्तालाई जोड्नका निम्ति मंगलबार सार्वजनिक विदा दिएको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताउनुभयो । गाइजात्राको अवसरमा इटहरीमा प्रत्येक वर्ष  वार्षिक क्यालेन्डरमा स्थानिय विदा रहने उहाँको भनाइ छ ।

गाईजात्रा पर्वले समुदायमा एकता र सांस्कृतिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलिरहेको नेवार समाज इटहरीका सचिव गोपाल श्रेष्ठले जानकारी दिनुभयो । इटहरीमा पनि हरेक वर्ष गाइजात्रा मनाउदै जाने आयोजकको योजना रहेको छ । नेवार समुदायको गाइजात्रा पर्वको अवसरमा मंगलबार इटहरी उपमहानगरपालिकाले सार्वजनिक विदा दिएको छ । गाईजात्रामा लाखेजात्राले पनि विशेष स्थान पाएको छ । IMG_20240820_102359

लाखेजात्रामा विभिन्न रूपरंगमा सजिएका लाखेहरूले यो पर्वको महत्वलाई थप बढाएका छन् । लाखेजात्रामा तराईका अन्य समुदायका मानिसहरू पनि सहभागी हुने गरेका छन्, जसले सांस्कृतिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ । 

गाईजात्रा पर्वको प्रारम्भ राजा प्रताप मल्लले पुत्र शोकले विह्वल आफ्नी रानीलाई संसारको सबैले यस्तै दुःख बेहोर्नु पर्छ भन्ने सन्देश दिन सुरु गरेका थिए । यो पर्व अहिले पनि समाजमा सान्दर्भिक रहँदै आएको छ । नेवार समाजले यस पर्वलाई निरन्तरता दिँदै जाने र सांस्कृतिक परम्पराको संरक्षण गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।

जनैपूणिर्माको भोलिपल्ट मनाइने गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गरिन्छ । वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झनामा यो पर्व मनाइन्छ ।

नेपालमा अहिले पर्यटनको क्षेत्र फराकिलो हुँदै गएको छ । पर्यटन नै अब आर्थिक, सामाजिक, सांस्कृतिक र प्राकृतिक महत्वका लागि आधार बन्न थालेको छ । पर्यटनको क्षेत्रमा नेपाल भित्रिने पर्यटकहरु नेपालीहरुले मान्ने चाड पर्व र संस्कृतिमा रमाउन थालेका छन ।

 नेपालीहरुको धर्म संस्कृति प्रकृतिसँग जोडिएको छ । नेपालीहरुले मान्ने चाड पर्वहरु पनि प्रकृतिसँग नजिक छन् । विभिन्न धर्म र संस्कृतिमा हुर्केको हाम्रो समाजमा परम्परागत रुपमा मनाइने चाड, पर्व, जात्रा, मेला र अन्य सांस्कृतिक उत्सवहरुमा पर्यटकहरु रमाउँछन् ।

गाईजात्रा नेवार जातिको मौलिक पर्व हो । तर आजभोलि गाईजात्रामात्र नभएर अन्य जात्रा र पर्वहरु पनि पर्यटनका लागि अध्ययन, अनुसन्धान र रोमाञ्चको विषय हुने गरेको छ । गाईजात्राको सुरुआत उपत्यकाका राजा प्रताप मल्लको पालाबाट सुरुआत भएको हो ।