धनकुटा । सामुदायिक वनको प्रभावकारिता तीनै तहको सरकार र समुदायको सहभागिता’ भन्ने मूल नाराका साथ सामुदायीक वन दिवस २०८१ देशभर मनाइएको छ । सोही अवसरमा धनकुटामा सामुदायिक वन उपभोक्ता महासंघ धनकुटा र डिभिजन वन कार्यालय धनकुटाको संयुक्त आयोजनामा ‘वृक्षारोपण कार्यक्रम’ सम्पन्न भएको छ। वृक्षारोपण कार्यक्रममा वन क्षेत्रभित्र गुराँश, तेजपत्ता, कल्की, बैंश, धुपी, चाँप, स्वामी, लोक्ता लगायतका ५ सय बिरुवाहरु रोपिएको छ । धनकुटाको छथर जोरपाटीमा रहेको सिहंदेवी तारेभिर सामुदायिक वन र धनकुटा नगरपालिकामा रहेको सिलढुंगा सामुदायिक वनमा उक्त विरुवा रोपिएको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निलबहादुर थापाले जानकारी दिनुभयो । वि.सं. २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानेर हरेक वर्ष साउन २५ गते मुलुकभर सामुदायिक वन दिवस मनाइँदै आएको डिभिजन वन कार्यालय धनकुटाका प्रमुख भरतबाबु श्रेष्ठले बताउनु भयो । कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्रकुमार सुब्बा, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष गिता गुरुङ खेवा लगायत सामुदायीक वनको उपभोक्ता समितिका पदाधिकारी, सदस्यहरु साथ साथै विभिन्न संघसंस्थाहका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।


