धनकुटा । अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठक बुधबार धनकुटामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा कोशी प्रदेशका तीन पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको सहभागितामा विभिन्न साझा सवालहरूको बारेमा छलफल भएको छ । धनकुटाको पाख्रिबासमा अवस्थित संसारी सिमसारको संसारी एयरलाइन्समा सम्पन्न बैठकमा धनकुटा सहित संखुवासभा र भोजपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । बैठकमा सबै जिल्लाका साझा सवालहरु जिल्ला स्तरीय शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, अवैध हातहतियार तथा लागूऔषध प्रयोग तथा ओसार पसार नियन्त्रण, खुल्ला सिमाना व्यवस्थापनमा छलफल भएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताउनु भयो । यस्तै बैठकमा सवारी साधन चेकजाँचमा कडाइ, विपद् व्यवस्थापन, प्रतिकार्य र विपद् पछिको अवस्था व्यवस्थापनमा साझेदारी, बन पैदावार तथा चोरी सिकारी नियन्त्रण, अवैध मदिरा नियन्त्रण,अपराधीक घटना बढ्न नदिन पूर्व तयारी, भारतीय सवारी साधन चेकजाँचमा कडाइ, रणनीतिक महत्वका स्थानहरुमा सिसिक्यामरा जडान गर्न स्थानीय सरकारसँग समन्वय, सार्वजनिक सेवा प्रवाह र प्रभावकारिता लगायतका विषयहरुमा छलफल भएको छ । समन्वय बैठकमा कोशी प्रदेशका धनकुटा सहित संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का र भोजपुरका प्रमुख जिल्ला अधिकारी नरबहादुर थापा सहित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।


