इटहरी / इटहरीमा चीनबाट चारवटा नगरबस आइपुगेको छ । नगर क्षेत्रभरी सहज र सरल रूपमा यातायातको सेवा पुर्याउन इटहरी उपमहानगरपालिकाले खरिद सम्झौता गरेको विद्युतीय नगर बस सोमबार आइपुगेको हो ।
नगर बस सञ्चालनको लागि कार्यपालिका बैठकमार्फत इटहरीका प्रवक्ता तथा वडा नं. ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर कार्य अगाडि बढाइएको थियो । इटहरी आइपुगेको नगर बस दसैँ अघिदेखि सञ्चालनमा ल्याइने पोखरेलले बताए ।
नगर बसलाई इटहरी क्षेत्रभित्र सञ्चालन गर्नेगरी रुट निर्धारण गरिने र नगर बस सञ्चालनका लागि सडक नबनेका ठाउँमा बनाइने उनको भनाइ छ । अहिले नगर बस रुट निर्धारण र व्यवस्थापनको लागि कार्यविधि अन्तिम चरणमा पुगेको उनले बताए ।
रुट निर्धारण समितिका उप–संयोजकसमेत रहेका इटहरी वडा नं. ९ का वडाध्यक्ष जीतेन्द्र थापाले समितिको बैठक बसेर चाँडै बस चल्ने रुटको टुङ्गो लगाइने बताए ।
न्यूनतम भाडा लिएर नगर सञ्चालन हुने उनको भनाइ छ । नगर बस रुट निर्धारण र व्यवस्थापनको लागि कार्यविधिको ‘ड्राफ्ट’ मात्र तयार भएको उनको भनाइ छ ।
नगर बस खरिदको लागि नेसनल फायर सेफ प्रालिसँग सम्झौता भएको मेसिनरी औजार व्यवस्थापन शाखा प्रमुख गणेश भट्टराईले जानकारी दिए । उनका अनुसार गत फागुन ८ गते ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस ल्याउने सम्झौता भएको थियो ।
इटहरी आइपुगेको नगर बस अपाङ्गमैत्री रहेका भट्टराईले बताए । उनले बिद्युतीय बसमा इञ्जिन नहुने भएकाले बिग्रिदाँ कम खर्चिलो हुनेसमेत बताए । बस सञ्चालनको लागि चालक र सहचालक नियुक्त गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
उनका अनुसार एउटा बसलाई करिब एक करोड ५९ लाख रुपैयाँ परेको हो । विद्युतीय बस भएका कारण महंगो भएको उनको दाबी छ । जँगथङ कम्पनीको बस ठेक्का प्रक्रियामार्फत ल्याइएको भट्टराईले बताए ।


