इटहरी । नेकपा एमाले मोरङ क्षेत्र न.६ को क्षेत्रीय समन्वय समितिको विस्तारित भेला तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार विराटनगरमा क्षेत्रीय समन्वय समितिका संयोजक मकरबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भेलाले साउन मसान्त भित्र मोरङ निर्वाचन क्षेत्र न.६ भित्रका २० वटा वडामा सदस्यता नवीकरण तथा पार्टी प्रशिक्षण गर्ने निर्णय गरेको हो । भेलामा नेकपा एमाले प्रदेश सचिवालय सदस्य तथा क्षेत्र न.६ का इञ्चार्ज कृष्ण(पर्शुराम) बस्नेतले पार्टीलाई विधि तथा नीतिको माध्यमबाट सञ्चालन गर्ने अभ्यास अनुरूप भेलाको आयोजना गरिएको बताउनु भएको थियो । बस्नेतले वडाबाट पार्टीको कामको थालनी गर्ने, वडाका नेताहरूको पृष्ठपोषण लिने कार्यले पार्टीलाई संस्थागत रूपमा बलियो बनाउने बताउँदै वडालाई बलियो बनाएर पार्टीलाई क्षेत्र न.६ मा सफल बनाउने बताउनु भएको थियो । बस्नेतले मिसन २०८४ सफल बनाउन वडा तहबाटै अभियान थाल्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । भेलामा नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले जिल्लाभर १६ हजार ५ सय पार्टी कार्यकर्ताको सदस्यता नवीकरण भइ सकेको जानकारी दिनु भएको थियो । कार्कीले जिल्लामा एमालेका वडा कमिटीहरूले बलियो ढङ्गले पार्टीको काम गरेको बताउनु भयो । भेलामा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पार्टी निर्माणमा वडा कमिटीहरूले गरिरहेका गतिविधिले नै पार्टीको मिसन २०८४ सफल पार्ने धारणा व्यक्त गर्नु भएको थियो । एमालेका केन्द्रीय कार्य समिति सदस्य रामलाल साहले सम्पूर्ण कार्यकर्ता पंक्ति सजहता साथ पार्टी कार्यमा जुटेर पार्टीको राम्रो कामको प्रचार गरेमा मिसन ०८४ सफल हुने बताउनु भएको थियो । एमाले केन्द्रीय कार्य समिति सदस्य तथा मोरङका इञ्चार्ज जीवन घिमिरेले वडा कमिटीबाट आएका सुझावलाई जिल्ला कमिटीले मनन गर्ने बताउँदै सूर्य चिन्हबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका अपेक्षाबिच पुलको काम गर्ने संयन्त्र सक्रिय बनाउने बताउनु भएको थियो । कार्यक्रमको सञ्चालन गर्नु भएका नेकपा एमाले विराटनगर महानगर समितिका सचिव रोहित कोइरालाका अनुसार भेलामा सुन्दरहरैँचा नगरपालिका, बुढीगङ्गा गाउँपालिका र विराटनगर महानगरपालिकाका २० वटा वडाका अध्यक्ष, सचिव तथा सोही स्थानीय तहका पार्टीका अध्यक्ष, सचिवले पार्टी कमिटीको विषयमा प्रस्तुती दिनु भएको थियो ।