इटहरी । महिला मञ्चले शनिबार “नेपाली र मारवाडीको तीज सङ्गम“ कार्यक्रम सम्पन्न गरेको छ । महिलाहरूबीच मेहन्दी लगाउने प्रतिस्पर्धा, अङ्ग्रेजी अक्षरको क्रम मिलाई आफ्ना पतिको नाम लेख्ने प्रतिस्पर्धा, बालबालिकाका लागि कुसन राउन्ड प्रतियोगिता जस्ता मनोरञ्जनात्मक गतिविधिका बीच तीजको दर खाएर कार्यक्रम सम्पन्न गरिएको आयोजक संस्थाकी अध्यक्ष चांदनी अग्रवालले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीता कुमारी चौधरीले उपमहानगरपालिकाले महिलाहरूका लागि विभिन्न लाभकारी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । कार्यक्रमको खाका तयार गरी निवेदन दिएमा बजेट विनियोजन गर्न उपमहानगरपालिका तयार रहेको उहाँको भनाइ थियो । एकल महिलाको सहायताका लागि उपमहानगरपालिकाले उनीहरूलाई विभिन्न सीपमूलक तालिम प्रदान गरिरहेको उपप्रमुख चौधरीले उल्लेख गर्नुभयो । कार्यक्रममा सञ्चालित विभिन्न प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा महिलाहरुले लगाउने गरगहना , जुत्ता चप्पल , लुगा , घरायसी सजबटका सामानहरु साथै बालबालिकाहरुले खेल्ने सामग्रीहरुको स्टल राखिएको थियो ।


