इटहरी । पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवाको आठौँ स्मृति दिवसको अवसर पारेर धनकुटा नगरपालिका वडा नं. ४ श्रीपञ्चमी पार्कका अनाथ बालबालिकालाई खाद्यान्न, फलफुल तथा स्टेशनरी वितरण गरिएको छ । स्वर्गीय खेवाको आठौँ स्मृति दिवसको अवसरमा श्रीपञ्चमी पार्कमा आश्रित बालबालिकाहरुलाई खाद्यान्न, फलफुल तथा स्टेशनरी वितरण गरिएको हरीराज स्मृति प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र विष्टले जानकारी दिनुभयो । प्रतिष्ठानले हरेक वर्ष हरिराज खेवाको स्मृति दिवसमा विभिन्न कार्यक्र गर्दै आइरहेको छ । आठौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा धनकुटा नगरपालिकाकी उपप्रमुख भीमा खनाल, प्रतिष्ठानकी संरक्षक तथा छथर जोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गीता गुरुङ खेवा, धनकुटा नगरपालिकाकी पूर्व उपप्रमुख शकुन्तला बस्नेत, सामाजिक अगुवाहरु ऋषिराम ढुंगाना, तारा तितुङ, कविता कन्दङ्वा र तिलकप्रसाद राई लगायतले खेवाको योगदानको चर्चा गर्नुभएको थियो । खेवाको २०७३ साल साउन १३ गते धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिधुवामा बस दुर्घटनामा परी खेवा सहित १४ जनाको निधन भएको थियो । यसैबीच नेकपा माओवादी केन्द्र धनकुटाले धनकुटा ७ जिरो प्वाइन्टमा रहेको पार्टी कार्यलयमा खेवाको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरेको जनाएको छ ।


