इटहरी । पुर्वकै चर्चित पर्यटकीयस्थल भेडेटारको चाल्स पोइन्टमा स्काइ वाक टावर सञ्चालनमा आएको छ। भेडेटारलाई साहसिक पर्यटनको हव बनाउने प्रयास अनुसार शुक्रबारबाट टावर औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्काई वाकको उद्घाटन गर्नुभएको हो । स्काइ वाकको उद्धाटन गर्दै मुख्यमन्त्री कार्कीले भेडेटारलाई पर्यटकीय हब बनाउन स्काइ वाकले सहयोग गर्ने बताउनु भयो । उहाँले प्रदेश सरकारले आगामी २०८२ साललाई पर्यटन वर्ष मनाउन लागेकोले भेडेटारमा बनेको स्काइ वाकले त्यसलाई सहयोग पुग्ने बताउनु भयो । एघार रोपनीमा रहेको स्काइ वाकमा ५० मिटर लामो सिसामा हिड्न सकिन्छ । सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि देशकै तेस्रो गन्तव्य भेडेटार बनेको छ । यसअघि काठमाडौंको कमलादी, इलामको कन्याममा वन्डर्स एम्युजमेन्ट पार्क प्रालिकोे स्काई वाक सञ्चालनमा आइसकेको छ । भेडेटारमा सञ्चालनमा आएको स्काई वाकमा एकपटकमा २५ जना सम्म हिड्न सकिने क्षमता रहेको वन्डर्स एम्युजमेन्ट पार्क प्रालिका कार्यकारी निर्देशक सञ्जिव रोक्काले जानकारी दिनुभयो । त्यहाँ हिँड्दा खुला आकाशमा हिँडेजस्तो अनुभव हुने र साहसिक पर्यटनका पारखीहरूले यसमा मज्जा लिनसक्ने बताइएको छ । स्काई वाक भएको ठाउँबाट पूर्व १४ जिल्ला देखिने भनिएता पनि मोरङ, सुनसरी र धनकुटा जिल्लाका विभिन्न ठाउँहरु नजिकै जस्तो गरि नियाल्ल्न सकिन्छ । झण्डै एक रोपनी क्षेत्रफलमा स्काइ वाक फैलिएको छ । टावरमा हिँड्नका लागि प्रयोग गरिएको सिसा ब्रिटिस स्ट्याण्डर्डको प्रयोग गरिएको रोक्काले जानकारी दिनुभयो । चार बर्षअघि देखि निर्माण थालिएको स्काईवाक प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले २० करोड लगानीमा निर्माण गरिएको परियोजनाको कार्यकारी निर्देशक सञ्जिव रोक्काले जानकारी दिनुभयो । उहाँले स्काइ वाकको आम्दानीबाट तिरेको राजस्व ५५ प्रतिशत साँगुरीगढी गाउँपालिका र ४५ प्रतिशत धरान उपमहानगरपालिकाले लिने सहमति भएको छ भने प्रदेश सरकारले ५ प्रतिशत राजस्व लिने बताउनु भयो । कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम रानामगर, खानेपानी मन्त्री एकराज कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री नारायण बुर्जामगर, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई लगायतको उपस्थिती रहेको थियो ।