इटहरी । पुर्वकै चर्चित पर्यटकीयस्थल भेडेटारमा पर्यटक सहायता पोष्ट स्थापना भएको छ । घुम्न आउने पर्यटकहरुलाई सुरक्षाको पुर्णरुपमा अनुभूति दिलाउने उद्देश्यले नेपाल प्रहरीको पर्यटक सहायता पोष्ट स्थापना भएको हो । तीन जनाको दरबन्दी रहेको उक्त पर्यटक सहायता पोष्टको बुधबार एक कार्यक्रम बीच साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले उद्घाटन गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एवं एसपी श्याम सिंह चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । गाउँपालिका प्रमुख रुम्दालीका अनुसार नेपाल प्रहरीले भेडेटामार ३ जना पर्यटक प्रहरीको दरबन्दी दिएको छ । भेडेटार चोक स्थित पोष्टमा हवल्दारको नेतृत्वमा २ जना पर्यटक प्रहरी बस्ने उहाँले बताउनुभयो । पर्यटक प्रहरी पोष्ट तयार गर्न गाउँपालिकाले सहयोग गरेको छ । भेडेटारमा पर्यटक प्रहरीको माग धेरे अघि देखि भइरहेको थियो । नेपाल प्रहरीले धनकुटाको भेडेटार  सँगै ताप्लेजुङको पाथीभारा, इलामको कन्याम, खोटाङको हलेसी र सुनसरीको बराहक्षेत्रमा पनि पर्यटक प्रहरी खटाएको छ । भेडेटारलाई विगतमा प्रदेश सरकारले पर्यटकीय गाउँपालिका घोषणा गरेको थियो । अहिले पनि सोही घोषणा गरेर बिशेष लगानी र अनुदान दिन पहल गरिरहेको गाउँपालिका अध्यक्ष रुम्दालीले बताउनुभयो ।