धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुतिढुंगाका कृष्णबहादुर विक विदेशबाट फर्केर पुख्र्यौली पेशामा रमाइरहनु भएको छ। विगत दुई वर्षदेखि उहाँले परम्परागत पेशालाई आधुनिक ढङ्गले अघि बढाउँदै मासिक ७० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन्।
कामको खोजीमा १८ वर्षअघि मलेसिया पुग्नुभएका कृष्णबहादुर ३१ दिनपछि अवैधानिक ढंगले बस्नुपर्यो। त्यसपछि त्यहाको कम्पनीले काम गरेको पैसा पनि नदिने र घर पनि नपठाउँदा करिब साढे ४ वर्ष अवैधानिक रुपमा बस्नुभयो। त्यसपछि मलेसियामा रहेका नेपालीको सहयोगमा नेपाल आउनु भएका विकले गाउँमै पुख्यौली पेशा सुरु गर्नुभयो। गाउँबाटै खुकुरी, ठेकी बनाउन सुरु गरेका विकले हाल धनकुटाको हिले, ओखलढुंगा र स्याङ्जामा पुगेर खुकुरी सहित बाँस तथा काठबाट काइयो, ठेकी, सम्मानपत्रको फ्रेम, ओखल, पुसइ, चौथो, फ्रुट स्टेन, पर्दा, तोङ्वा, कप, वाइन गिलास, मायाको चिनो लगायतका सामग्री बनाउँदै आउनु भएको छ । विदेशबाट फर्केर २ लाख ५० हजारको लगानीमा पेशा सुरु गर्नुभएका उहाँले हाल १० लाखको सामान जोडिसक्नु भएको छ।
उहाँको फर्ममा ८ जनाले रोजगरी पाएका छन्। धनकुटामा बाँस तथा हस्तकला सम्बन्धि १८ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले जनाएको छ। त्यस्ता उद्योगलाई सिप विकास तालिम र प्रविधि हस्तान्तरण गर्ने गरिएको घरेलु तथा साना उद्योग कार्यालयका सुचना अधिकारी अर्जुन कार्कीले बताउनु भयो । पुख्र्यौली पेशालाई नवीनताका साथ अपनाउँदा यसले राम्रो आम्दानी दिन्छ भन्ने कृष्णबहादुर एक उदाहरण बन्नुभएको छ। यस्ता उदाहरणले वैदेशिक रोजगारीतर्फ लागेका युवाहरुलाई स्वदेशमै अवसर खोज्न प्रेरित गरेको छ ।


