इटहरी । मोरङको रंगेली स्थित संसारी माई मन्दिरमा धार्मिक पर्यटकको सख्या बढ्दै गएको छ । ऐतिहासिक तथा पौराणिक धार्मिक महत्व बोकेको सो मन्दिरमा श्रद्धा पूर्वक पुजा अर्चना गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वासका साथ श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ । पूजा अर्चना गरे देवीसँग गरेको भाकल पूरा हुने भन्दै सो मन्दिर दर्शन गर्न साताको हरेक मंगलबार र शनिबार नेपाल तथा भारतका टाढा टाढाबाट दर्शनका लागि भक्तजनहरु आउने गरेका छन् । विराटनगर देखि २२ किलोमिटर पूर्वमा रहेको रंगेली ७ स्थित चिसाङ खोलाको बगरमा रहेको सन्सारी माई मन्दिरको लामो इतिहास रहेको छ । निकै पूरानो काब्राको रुख मुनि मन्दिर रहेको छ । मंगलबार र शनिबार यस मन्दिरमा बलि चढाउने भक्तजनहरुको समेत भिड लाग्दछ । अहिले सो मन्दिरमा नेपालका विभिन्न जिल्ला र भारतको कलकत्ता, हरियाणा तथा सिमा नजिकका शहरहरुबाट समेत भक्तजनहरु पूजा अर्चनाका लागि आउने गर्दछन् ।


