इटहरीः पछिल्लो समय इटहरी सरकारका नगर प्रमुख हेमकर्ण पौडेलले बिभिन्न सामाग्री खरिदमा अनियमितता गरेको भन्ने बिभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नेकपा एमाले इटहरी नगर कमिटीले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
बुधबार सपथ ग्रहणसँगै सकिएको नेकपा एमाले इटहरी नगर अधिवेशनले पारित गरेका प्रमुख एजेण्डाहरु सार्वजनिक गर्दै नव निर्वाचित इटहरी नगरअध्यक्ष रुपेश बस्नेतले इटहरी उपमहानगरपालिकाले इटहरी अस्पतालका लागि खरिद गर्न लागेको सिटी. स्क्यान मेशिन, चीन गएर खरिद गरिएको नगर बस, नगरभित्र जडान गरिएका सिसी क्यामेरा, इन्फ्रास्टक्चर एम्बुलेन्स सेट समेतको खरिदमो अनियमितता भएको बिषयमा बाहिर आएका बिषयहरुको सत्य, तथ्य बाहिर ल्याउन जोडदार माग गरेका छन् ।
अधिवेशनले इटहरी उपमहानगरपालिकाको १५ औं नगर सभामा आर्थिक बर्ष ०८१/०८२ का लागि ल्याइएको बजेट कानुन विपरित भएको ठहर पनि गरेको बस्नेतले बताए ।
कानूनले निर्दिष्ट गरे बमोजिमको विधि प्रकृया नपुर्याई आन्तरिक यथार्थ आय भन्दा कयौं गुणा अधिक आयको प्रक्षेपण गरी बजेटको आकार बढाएकोले यसबाट नगरवासीमा अनावश्यक दायित्व भार बढ्ने देखिने बस्नेतले बताए । बजेट त्यसै अनुसार बाँडफाड भै खर्च हुने र आम्दानी न्यून हुदा योजनाहरु प्रभावित हुनुका साथै बजेट अभावमा भूक्तानी गर्न नसक्ने अवस्था सृजना हुने निश्चित रहेको उनले बताए । यसरी अनाधिकृत तवरले वडा अध्यक्षबाट प्रस्तुत बजेट कुनै हालतमा स्वीकार गर्न नसकिने भएकाले यथार्थ आयमा आधारित बजेट प्रस्ताव तयार गरी सभामा पेश गर्न नगर संसदिय दललाई आव्हान साथ निर्देशन पनि अधिवेशनले दिएको नवनिर्वाचित नगरअध्यक्ष बस्नेतले बताए ।


