इटहरी / निरन्तरको वर्षाका कारण इटहरी क्षेत्र डुबानमा परेको छ । मध्यरातिदेखि आएको निरन्तरको पानीका कारण इटहरी डुबानमा परेको हो । 

बाढीका कारण इटहरीका २० वटै वडाका विभिन्न क्षेत्रमा समस्या भएको छ । खोलामा पानीको सतह बढेर बस्तीमासमेत बाढी पुग्दा इटहरी जलमग्न भएको छ । इटहरीका विभिन्न वडाका भित्री भागहरूसमेत डुबानमा परेका छन् । 

वर्षा थप हुने भएका कारण सुनसरीको सेउती, सर्दू, सुनसरी खोला, बूढीखोला, टेङ्ग्रा खोला, मोरङको खेसलिया, लोहन्द्रा खोला, चिसाङलगायत सुनसरी मोरङ भएर बग्ने स–साना खोलामासमेत आकस्मिक बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

निरन्तर वर्षा हुँदा दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह गरेको छ ।