संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिकाले ६७ करोड ४५ लाख ७६ हजार रुपैयाको बजेट बिनियोजन गरेको छ ।
सोमबार खाँदबारी नगरपालिकाको १६औँ नगरसभा बैठकमा उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यले उक्त बजेट विनियोजन गरेकी हुन् ।
उक्त नगरसभामा आगामी आर्थिक वर्ष ०८१/८२ का नीति तथा कार्यक्रम खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले प्रस्तुत गरेका थिए । सो नीति तथा कार्यक्रम सभाले पास गरेको थियो । त्यसपछि नगर उपप्रमुख बज्राचार्यले खाँदबारी नगरपालिकाको कुल आय–व्यय तथा विषयगत क्षेत्रमा विनियोजन गरिएको बजेट सार्वजनिक गरेकी थिइन् । समृद्ध नगर बनाउन खाँदबारी नगरपालिका लागिपरिरहेकोलगायत थुप्रै योजनाहरू अगाडि सारेका छन् ।
खाँदबारी नगरपालिकामा संघ र प्रदेशबाट आएको बजेटको बारेमा समेत नगर प्रमुख थपलियाले सभालाई जानकारी गराएका थिए । खाँदबारी नगरपालिकाको विभिन्न क्षेत्रमा बजेट भित्राउने आफू निकै लागि परेको र सोही अनुसार बजेट प्राप्त भएको सभालाई जानकारी दिए ।
खाँदबारी नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पास भएपछि नगर उपप्रमुख बज्राचार्यले खाँदबारी नगरपालिकाको कुल आय ब्याय तथा बिषयगत क्षेत्रमा बिनियोजन गरिएको बजेट सार्वजनिक गरेकी थिइन ।
सो सभाले नगरभित्रका ११ वटै वडालाई ५० लाख रुपैया, पूर्वाधार, सामाजिक, सुशासन र शिक्षा लगायतका बिषयगत समितिलाई एक करोड २७ लाख, समपुरक कोष तर्फ एक करोड ९३ लाख, नगरको प्रशासनिक भवन निर्माण गर्न ३ करोड, भौतिक पूर्वाधार कार्यक्तममा ५ करोड ९३ लाख बिनियोजन गरेको छ ।
त्यसैगरि नगरको आम्दानी तर्फ राजश्व बाँडफाँडबाट ८० लाख, गिटी बालुवाबाट २० लाख, आन्तरिक कर संकलनबाट दुई करोड ५० लाख, संघीय सरकारबाट सशर्त अनुदान ३५ करोड १५ लाख, संघीय बित्तिय समानिकरण १६ करोड ३३ लाख, प्रदेश बित्तिय समानिकरणबाट एक करोड ६ लाख र प्रदेश राजश्व बाँडफाँडबाट १० करोड ४४ लाख रुपैया आएको जानकारी दिइन् ।
समृद्ध खाँदबारी नगर बनाउन खाँदबारी नगरपालिका लागि परिरहेको बताउदै खाँदबारी गौरवका थुप्रै योजनाहरु अगाडी सारेका छन् । पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ ।


