धनकुटा / धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि ६२ करोड रुपैयाँको बजेट पारित गरेको छ । नगरपालिकाको दोस्रो नगर सभाको पाँचौं अधिवेशनले प्रस्तुत गरेको नीति तथा कार्यक्रमसहित बजेट सर्वसम्मतिले पारित भएको हो ।
पालिकाले आगामी आर्थिक वर्षका लागि कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ । त्यस्तै, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा सुदृढीकरण, पर्यटन पूर्वाधार विकास र युवा स्वरोजगार कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ।
पालिकाले बजेट कार्यान्वयनका लागि सबै सरोकारवालाहरूसँग सहकार्य गर्ने नगर प्रमुख ध्रुवराज रायले बताए । अधिवेशनमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित भएको जानकारी उनले दिए ।
नगरसभाको अवसरमा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो । विभिन्न क्षेत्रमा सहयोग तथा योगदान गर्ने अन्य व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । यस्तै, पालिकाका व्यावसायिक कृषकहरु मध्येबाट उत्कृष्ट कृषक तथा उत्कृष्ट उद्यमीलाई पनि पुरस्कृत र सम्मानित गरिएको थियोे ।
चालु आर्थिक वर्षमा सञ्चालन भएका योजनाहरु मध्येबाट कार्य सम्पादनको आधारमा उत्कृष्ट उपभोक्ता समितिका अध्यक्षलाई समेत सम्मान गरिएको थियो ।


