काठमाडौं / चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ र मौवाखोला बीचमा कारसँग ठक्कर खाँदा रात्रिबस त्रिशुली किनारामा खसेको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान करिब सात बजेतिर काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको बा प्र ०१–०२९ च ३७२० नम्बरको कार र नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ४०६२ रात्रि बस ठक्कर खाएको थियो । बसमा ३५ जना र कारमा पाँच जना यात्रु रहेका जनाइएको छ । दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
कारमा सवार पाँच जना र बसका १२ यात्रुको उद्धार गरी चितवनका विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।उनीहरुलाई चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको जनाइएको छ । यद्यपि, बाँकी विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।


