पाँचथरको फिदिम नगरपालिले नगर क्षेत्रलाई खर र फुसको छानो मुक्त बनाउने अभियानलाई तीव्रता दिएको छ। नगरपालिकाले घर नभएका तथा घर भएर पनि टिनको छानो हाल्न नसकेका घर परिवारको पहिचान गर्दै जस्तापाता वितरण कार्यलाई तीव्रता दिदैं फिदिम नगर क्षेत्रलाई खर र फुसको छानो मुक्त बनाउने नगरपालिको ‘विपन्नका साथमा नगरपालिका’ भन्ने अभियान अन्तरगत यो वर्ष सात सय ८१ बण्डल जस्तापाता खरिद गरेको नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो।

उहाँका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तरगत ७ सय ८१ बण्डल जस्तापाता खरिद गरि बितरण गरिसकेको छ। 

आउँदो वर्ष नगर क्षेत्रमा रहेका खर वा फुसका छानो भएका घर पूर्णतया विस्थापन गर्ने नीति नगरपालिकाको छ। अभियान अन्तरगत नगरपालिकाले गत वर्ष एक सय ६८ परिवारलाई घर छाउने जस्तापाता वितरण गरेको थियो। 

१४ वटा वडा रहेको फिदिम नगरपालिकामा अझै तीन सय हाराहारीमा फुसको छानो भएका घर छन्। आगामी वर्ष पनि जस्तापाता वितरण गर्ने योजना भएकोले समयमै सम्पर्क गर्न नगर प्रमुख काफ्लेले सामाजिक सञ्जाल मार्फत समेत अनुरोध गर्नुभएको छ ।